
असार २४ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। पाल्पामा अविरल बर्षाका कारण पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।तिनाउ गाउँपालिका – ५, हिउँदेखोला गिट्टी खानी, क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय चार वर्षीय बालक आरम्भ परियारको मृत्यु भएको हो ।पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।पहिरोले घर बगाउँदा सोही ठाउँका रमेश परियारको ४ बर्षीय छोरा आरम्भ परियार पुरिएको अवस्थामा कल्याणी आधारभूत विद्यालय जाने बाटोमा भेटिएको प्रहरीले जनाएको छ ।
पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ ।पहिरोले स्थानीय २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।पहिरोको कारण सडक अवरुद्ध हुँदा पर्याप्त जनशक्ति घटनास्थलमा पुग्न कठिन भएको थियो ।दोभानबाट प्रहरी आएपछि स्थानीयको सहयोगमा घाइतेको उद्दार गरी अस्पताल पठाएका थिए । बुटवलतर्फ लैजान कठिन भएको र तानसेन लैजान पनि कालीमाटीमा पहिरो झरेकाले समस्या भएको थियो ।
पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, बलबहादुर पुन र रमेश परियारको घर पहिरोले बगाएको स्थानीय विष्णु बहादुर गाहाले बताए ।स्थानीय प्रेम श्रेष्ठ, विष्णु गाहा, सुन्दर गाहा लगायतको पहलमा घाइतेको उद्दार भएको थियो । पहिरो पीडितलाइ कल्याणी आधारभूत विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक सुन्दर गाहाले बताए ।पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड समेत अवरूद्द भएको छ । सिद्धबावा, झुम्सा, पानी मिल, हिउँदे खोला, कालीमाटी क्षेत्रमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।
कमेन्ट गर्नुहोस्