
आषाढ १९ गते शनिबार २०७८ तिलोत्तमा सिटी । नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही शाखा रक्तदान अभियानसँगै शनिबार गुल्मीको रिडी पुगेको छ । रूरू प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेका हुन् । रुपन्देही शाखाले समन्वय गरेको कार्यक्रम रूरू प्राथमिक स्वास्थ्य केन्द्र रिडीको आयोजना एवम् समाजको गुल्मी शाखाको सह आयोजनामा सम्पन्न भएको हो । अधिकतम रक्तदाताहरुले पहिलो पटक रक्तदान गरेको पाउँदा रूरू क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले खुशी व्यक्त गर्नु भयो । वहाँले दाताहरुलाई निरन्तरताको शुभकामना दिँदै गाउँपालिकाको सहयोग रहने बताउनु भयो ।
रक्तदान कार्यक्रम शहर केन्द्रित भइरहेको परिप्रेक्ष्यमा पहाडी क्षेत्रमा कार्यक्रम नहुने र त्यस क्षेत्रका स्थानियले चाहेर पनि रक्तदान गर्न नपाइरहेको सन्दर्भलाई मध्यनजर गरी आफ्नो संस्था जिल्ला बाहिरसमेत यसरी लागिरहेको समाजका रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताउनु भयो ।
कार्यक्रममा स्वास्थ केन्द्रका अध्यक्ष तथा वडा नं १ का अध्यक्ष रामलाल वि. क. ले स्वयं रक्तदान गर्दै रक्तदान महादान भएको बताउनुभयो। त्यस्तै स्वास्थ केन्द्रका प्रमुख डा. विकास पन्थीले रक्तदानको महत्त्वको बारेमा प्रकाश पार्दै रक्तदान गर्नु भनेको स्वस्थ हुनुको प्रमाण रहेको बताउनु भयो।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र गुल्मी जिल्ला शाखाका पदधिकारी लगायत सदस्यको समेत उपस्थिति रहेको थियो । कार्यक्रम मनोज गिरीले सञ्चालन एवम् सुरेन्द्र सापकोटा र भरत क्षेत्रीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। रुपन्देही शाखाले १ महिनाको अवधिमा अर्घाखाँची, पाल्पा र गुल्मीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको र सबै ठाउँमा उत्साहजनक सहभागीता रहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्