
सोमबार २७ बैशाख, २०७८ तिलोत्तमा सिटी।नेपाली काँग्रेस रुपन्देहीले पार्टीका सदस्य, शुभेच्छुक तथा संघसंस्थाहरुलाई कोरोना महामारीका कारण संकट तथा विपदमा परेकाहरुलाई सक्दो सहयोग गर्न अपिल गरेको छ । काँग्रेस रुपन्देहीले सोमबार एक बिज्ञप्ती जारी गरी कोरोना भाईरस संक्रमणका कारण संकटमा परेका तथा विपदमा परेकाहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सहयोग गर्न अपिल गरेको हो।कोरोना भाईरस महामारीका कारण रुपन्देही जिल्लाको जनजीवन नराम्रोसंग प्रभावित भएको औंल्याउँदै नागरिकको जिवन रक्षा गर्नका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न सरकारसंग माग समेत गरेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ –‘जिल्लामा दैनिक सयौंको संख्यामा कोभिडका बिरामी थप हुदै गएका छन् भने जिल्ला कोरोनाको हटस्पट बनेको छ । आम जनमानसमा कोभिड–१९ को कारणले भय, त्रास र डरको वातावरण सृजना भएको छ । तीनै तहका सरकारहरुबाट जनताले विश्वास गुमाइसकेको अवस्था छ ।’हालसम्म रुपन्देही जिल्लामा १८०७० जना कोरोनाबाट संक्रमित भईसकेका छन् । कोरोना भाईरस संक्रमणकै कारण २६८ जनाले ज्यान गुमाएका छन् । जिल्लामा रहेका ५ वटा कोरोनाको उपचार हुने अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भएको छ – बिज्ञप्तीमा भनिएको छ ।कोरोना भाईरस संक्रमितले अस्पतालमा बेड खोज्दाखोज्दै घरमै, बाटोमै ज्यान गुमाउनु परेको दयनीय घटना देख्नुपरेको उल्लेख गर्दै सरकार नागरिकको जीवन रक्षा गर्ने भन्दा पनि सत्ता र कुर्चीको खेलमा लिप्त बनेको आरोप लगाईएको छ ।
महामारीको विषम परिस्थितीमा नागरिकको जीवन रक्षाको लागि आवश्यक अक्सिजन, आईसीयु बेड, खोप लगायत औषधिको तत्काल व्यबस्था गर्न समेत सरकारसंग माग गरिएको छ । महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारमा अहोरात्र खटिने चिकित्साकर्मी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्थानीय जनप्रतीनिधीहरुको स्वास्थ्य सुरक्षामा गम्भिर बन्न समेत सरकारलाई आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस्