
तिलोत्तमा २०७८ बैशाख १२ गते आइतबार। रुपन्देहीको नयामिल स्थीत प्यारामाउण्ट उच्च माध्यमिक बिद्यालयको छात्रावासमा संगै बसेकी सहपाठीको अकस्मात निधन भएपछि स्वाव संकलन गरीएका सबै बिद्यार्थीको कोरोनाको रिर्पोट नेगेटिभ आएको छ ।बिद्यालयको छात्रावासमा बसेकी प्रतिमा सापकोटाको कोरोनाको जस्तै लक्षणबाट अकस्मात मृत्यु भएपछि त्यहा बस्दै आएका अन्य ४३ जना बिद्यार्थीहरुको स्वाव परिक्षण गरिएको थियो।सनिवार सबैको स्वाव संकलन गरी पठाईएकोमा छात्रावासका सबै विद्यार्थीको कोरोना रिपोर्ट नेगेटिभ आएको छात्रावास वार्डेन परशुराम पुरीले बताए ।विद्यार्थीहरुको रिपोर्ट नेगेटिभ आएपछि आईतवार अभिभावक बोलाएर सबैलाई घर पठाईएको पुरीले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाले आईतवारदेखि नै नगरक्षेत्र भित्रका सबै शैक्षिक संस्थाहरु बन्द गरेपछि विद्यालय पनि आजैदेखि बन्द गरिएको छ ।उता प्रतिमाको शव भने कोरोना परिक्षण बिनै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शवगृहमा राखिएको छ । कोरोनाका कारण ज्यान गयो भनेर आक्रोसित मृतकका आफन्तले मृतकको स्वाव संकलनमा भने अनिच्छिुक देखिएको छ । उनीहरुले बिद्यालयमा तोडफोड गर्नुका साथी अध्यक्षमाथी अभद्र ब्यवहार गरेका थिए । प्रतिमाका दाजु प्रकाश सापकोटाले बुवाआमा बाहिर रहेकोले स्वाव परिक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आए शवगृहमा राख्न समस्या हुने भएकोले स्वाव संकलन नगरि राखिएको बताए । ‘बुवाआमा जापानबाट आउने तयारीमा हुनुहुन्छ, अहिले परिक्षण गरेर कोरोना पोजिटिभ आयो भने बुवाआमालाई बहिनीको मुख देखाउन शव राख्न पनि पाईदैन, बुधवार विहीबारसम्म बुवाआमा आईपुग्नुहुन्छ होला परिक्षण गरेपनि त्यसपछि गर्ने सल्लाह भएको छ’ उनले भने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि मृतक बालिकाको परिवारको आग्रहमा बुवाआमा नआउंदासम्म परिक्षण बिनै शवगृहमा राखिएको बताए । ‘कोभिड भएपनि नभएपनि बुवाआमा आउने बेलासम्म शवगृहमा राखौं भन्ने परिवारको आग्रह अनुसार शवलाई शवगृहमा राखिएको हो ।’ उनले भने ।
प्रतिमा र प्रकाशका बुवा डोलनाथ सापकोटा र आमा लक्ष्मी सापकोटा विगत १२ बर्षदेखि जापानमा रहेका छन् । पछिल्लो पटक तिनवर्ष अघि नेपाल आएका उनिहरु त्यसयता घर आएका थिएनन् । बुवाआमा पनि जापान रहेकोले प्रतिमा छात्रावासमै बसेर अध्ययन गर्दै आएकी थिईन् ।गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८ साविक तुराङ्ग गाविसको झुर्मु गाउँमा जन्मिएकी १५ बर्षिया प्रतिमा कक्षा नर्सरीदेखि नै सोहि विद्यालयमा अध्ययनरत थिईन् । यता छात्राको मृत्यु र त्यसपछि विद्यालयमा भएको तोडफोड तथा हातपातको विषयमा छानविन गर्न तिलोत्तमा नगरपालिकाले छानविन समिती गठन गरेको छ । नगरप्रमुख एवं सिसिएमसी नगर संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले छात्राको निधनप्रति दुःख व्यक्त गर्दै सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी समिति गठन गरेको हो।
वार्डेन पुरीका अनुसार प्रतिमाले सधैजसो शुक्रवार सांझ पनि विद्यालयको छात्रावासमा साथीहरुसंगै खाना खाएकी थिईन् । उनिसंगै छात्रावासमा रहेका ४४ जना छात्रछात्राहरु सुक्रबार सातबजे देखि ८ बजे सम्म सांझको खाना खाएर गित गाउंदै नांचगान गरेका थिए । रातीसम्म पढेर सकुशल सुतेकी प्रतिमा विहान ६ बजे उठ्दा पेट दुखेको बताएपछि साथीहरुले वार्डेन पुरीलाई जानकारी गराएका थिए । विद्यार्थी विहान विरामी भएको भनेपछि अस्पताल लैजान भन्दै साढे सातबजेतिरै अभिभावकलाई बोलाएर पठाएको उनले बताए । पुरीका अनुसार प्रतिमाले विरामी भएको भनेपछि १५ दिन पहिलेपनि घर पठाईएको थियो । ‘यसअघि पनि पेट दुख्ने छाती दुख्ने भनेपछि अस्पताल जाने भन्दै घर गएकी थिईन्, सनिवार विहानपनि अस्पताल गएर दिउसो होस्टल आउने भन्दै वाईवाई गरेर गएकी छात्राको मृत्युको खबरले हामी दुखित छौं ।’ उनले भने ।
प्रतिमालाई विद्यालयमा लिन गएका उनकै दाजु प्रकाश सापकोटाले पनि हेर्दा बहिनी सामान्य जस्तै देखिएकोले विद्यालयबाट सिधै अस्पताल नलगी नयांमिलस्थित ठूलोबुवाको घरमा लगेको बताए । ‘बहिनी हेर्दा सामान्य नै रहेकोले घरमा लगेर पानी खान दियौं, ११ बजेतिर खाना खाएपछि फेरी पेट र छाती दुख्यो भनेपछि अस्पताल लगेका थियौं ।’ उनले भने उपचारको लागि दिउसो १ बजेतिर मणिग्राम स्थित क्रिमसन अस्पतालमा पु¥याईएपनि अस्पताल ल्याईपु¥याउंदा प्रतिमाको मृत्यु भईसकेको अस्पतालले बताएको छ । तर उनको मृत्यु के कारणले भयो भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको अस्पतालले जनाएको छ ।
कमेन्ट गर्नुहोस्