
तिलोत्तमा,२०७७ फाल्गुन ६। प्रधानमन्त्री केपी शर्मा ओली आफुले न्यायालयको सधैंभर सम्मान गरिरहेको बताएका छन् ।अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च पुगेका प्रधानमन्त्री ओलीले जवाफमा अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन् । ओलीले आफुहै कहिल्यै न्याय सम्पादनका क्रममा हुने काम कारबाहीमा कुनै अवरोध नगरेको जिकिर गरेका छन् ।प्रधानमन्त्री ओलीले अदालतबाट भएका फैसला तथा आदेशको आफू र आफू नेतृत्वको सरकारबाट सदैव पालना र कार्यान्वयन भएको जनाउँदै आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु दुराग्रहपूर्ण भएको टिप्पणी गरेका छन् ।
लिखित जवाफमा ओलीले भनेका छन्, ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ ।’प्रधानमन्त्री ओलीले वकिलहरूलाई अपमान नगरेको पनि प्रस्ट पारेका छन् ।उनले जवाफमा लेखेका छन्, मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु नत कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु । मैले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु । प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिँदा मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ। प्रधानमन्त्री ओलीमाथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनेको आरोप लागेको थियो ।
ओलीले अशिष्ठ र अमर्यादित अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए ।गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।सोही इजलासले चार पूर्व प्रधानन्यायाधाीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।तर, बाटोको म्यादबाहेक एकसाताभित्र आफै अदालत उपस्थित हुने आदेशलाई सर्वोच्च प्रशासनले गत मंगलबारमात्रै प्रधानमन्त्री निवासमा तामेल गरेको थियो ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफ :
कमेन्ट गर्नुहोस्