लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७१ करोड ८८ लाख लागतमा तिनाउ-दानव करिडोर निर्माण सुरु, ३ बर्षमा सक्ने

IMG

मङ्सिर ६ गते २०७७ तिलोत्तमा । रूपन्देहीस्थित तिनाउ र दानव नदीको दायाँबायाँ दुई लेनको सडक निर्माण हुने भएको छ । नदीको दीर्घकालीन व्यवस्थापन र पर्यटनको विकासका लागि भन्दै तिनाउ करिडोर निर्माण थालिएको हो ।पहिलो चरणमा तिनाउ नदीको किनारबाट ३५ किलोमिटर र दानव नदीको १५ किमिमा सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि ठेक्का लागेको डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरले बताए ।


तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिना भित्रमा सक्ने सम्झौता छ । सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीले सर्भेको काम थालेको प्रवक्ता कुँवरले बताए । ‘ठेक्का भएको तिनाउपट्टि बुटवल उपमहानगर बसपार्कपछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगरघाटसम्म र दानवपट्टि बेलवासको झोलुंगे पुलदेखि नयाँगाउँको पुलसम्म सर्भे  भएको र ‘सर्भेलगत्तै करिडोर निर्माणमा लाग्ने  प्रवक्ता कुँवरले बताए ।


करिडोर निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने देखाएको छ । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ ।पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७/७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ । बुटवल क्षेत्रमा पर्ने तिनाउ नदीको उकास क्षेत्रमा एक लेनको सडक सञ्जाल छ । दानव नदीको धेरै ठाउँमा भने ट्र्याकसमेत खोलिएको छैन ।

कमेन्ट गर्नुहोस्