
भलवारी । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (जनउत्थान साकोस) ले आफ्ना विशिष्ट सदस्यहरूसँग समसामयिक सहकारी क्षेत्रका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।आफ्नो मणिग्राम शाखाको आयोजनामा भएको कार्यक्रममा त्यस क्षेत्रका बिशिस्ठ सदस्यको बाहुल्य उपस्थिति रहेको थियो ।
संस्थाको वर्तमान अवस्था, सहकारी क्षेत्रका चुनौती, अवसर तथा सदस्यका जिज्ञासाका विषयमा केन्द्रित कार्यक्रममा करिब १ सय ५० जना सदस्य तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीमध्ये करिब ७/८ जनाले सहकारीसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना जिज्ञासा, सुझाव तथा प्रश्न राखेका थिए। वक्ताहरूले सदस्यका सवालको जवाफ दिँदै सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अध्यक्षता मणिग्राम शाखाकी संयोजक सिता पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जनउत्थान साकोसका अध्यक्ष गिरि प्रसाद पुनको सहभागिता रहेको थियो। कार्यक्रममा सकोसका सीईओं रन बहादुर थापाले सहकारीको बिषयमा कार्यपत्र तथा प्रतिबेदन सहितको प्रस्तुति दिनुभएको थियो।सो अवसरमा लुम्बिनी प्रदेश सांसद दिपा विकले पनि सहकारी क्षेत्रको वर्तमान अवस्था र आगामी दिनमा सहकारीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रममा बोल्दै जनउत्थान साकोसका अध्यक्ष गिरि प्रसाद पुनले सहकारीको मुख्य उद्देश्य सदस्यको आर्थिक तथा सामाजिक जीवनस्तर सुधार गर्नु रहेको बताउँदै संस्था सदस्यहरूको विश्वास र सहभागिताबाट अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले सहकारीको वर्तमान अवस्थाबारे सदस्यहरूलाई यथार्थ जानकारी गराउँदै आएका समस्या र चुनौतीको समाधानका लागि संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो।
अध्यक्ष पुनका अनुसार जनउत्थान साकोसमा हाल करिब ४४ हजार सदस्य आबद्ध छन्। संस्थाले सदस्यको आवश्यकता र आर्थिक गतिविधिलाई ध्यानमा राख्दै करिब १ अर्ब रुपैयाँभन्दा बढी रकम ऋण लगानीका लागि तयार अवस्थामा राखेको जानकारी दिइएको छ।
कार्यक्रममा वक्ताहरूले सहकारी संस्थाप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। सदस्यहरूले पनि संस्थाको आगामी योजना, ऋण लगानी, बचत, सेवा सुविधा तथा सहकारी क्षेत्रका समग्र विषयमा जिज्ञासा राखेका थिए।जनउत्थान साकोसले ‘एक्सेस सिल्भर ब्रान्ड’ प्राप्त गर्न सफल भएको उल्लेख गर्दै वक्ताहरूले संस्थाले स्थानीय तथा क्षेत्रीय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमै आफ्नो पहिचान बनाउन सफल भएको बताएका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद दिपा विकले सहकारी संस्थाहरूले आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै सदस्यको हितलाई केन्द्रमा राखेर सहकारी अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले सहकारीमा देखिएका समस्या समाधान गर्न सञ्चालक, कर्मचारी र सदस्य सबैको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो।
त्यस्तै, अन्य वक्ताहरूले पनि बदलिँदो आर्थिक तथा सामाजिक परिवेशअनुसार सहकारीहरूले आफ्नो कार्यशैली र सेवा प्रवाहमा सुधार गर्दै सदस्यको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा मणिग्राम शाखाका सदस्यहरुले जोड दिएका थिए।
सदस्य र संस्थाबीच प्रत्यक्ष संवाद तथा सवाल–जवाफमार्फत सहकारीको वर्तमान अवस्था बुझ्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रमले सदस्यका जिज्ञासा सम्बोधन गर्नुका साथै संस्थाप्रति सदस्यको अपनत्व र विश्वास थप मजबुत बनाउन सहयोग पुगेको आयोजकको तर्फबाट मणिग्राम शाखाका ब्यबस्थापक जोगबहादुर थापाको भनाइ छ।
कमेन्ट गर्नुहोस्