लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समस्याग्रस्त सहकारीविरुद्ध साउन १ देखि अनलाइनबाटै उजुरी दिन सकिने

IMG

हेटौँडा, असार ३० गते । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागु गर्ने भएको छ ।


मङ्गलबार आयोजित बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले सो कुराको जानकारी दिनुभएको हो । उहाँले आगामी साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने र प्राप्त उजुरीउपर छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने बताउनुभयो ।


सहकारीको बचत फिर्ता गराउने कार्यलाई सरकारले निरन्तरता दिने उल्लेख गर्दै मन्त्री पौडेलले भन्नुभयो, “सहकारी बचत फिर्ता प्रक्रियालाई प्रदेश सरकारले निरन्तरता दिएर अगाडि बढाउने छ । त्यसैले सबै सहकारीपीडित नागरिकलाई धैर्य भइदिन अनुरोध गर्दछु । अब हामीले समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दैछौँ । आगामी साउन १ गतेदेखि यो प्रणाली सुरु हुने छ । अनलाइनमार्फत उजुरी दिएपछि त्यसको आवश्यक अध्ययन गरी पीडितले बचत रकम फिर्ता पाउनुहुने छ ।”


उहाँले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई प्रदेश सरकारले अभियानकै रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

कमेन्ट गर्नुहोस्