लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित

IMG

बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सलुन एन्ड एकेडेमी ले १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ। सोमबार आयोजित विशेष समारोहमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो।


समारोहमा हेयर ड्रेसिङ र सौन्दर्यकला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका अग्रज नाई नाथु श्रीवास्तव र ब्युटिसियन सुशीला श्रेष्ठलाई विशेष सम्मान प्रदान गरियो। सौन्दर्य पत्रकारितामार्फत क्षेत्रको प्रवर्द्धनमा योगदान दिएको भन्दै एक पत्रकारलाई पनि सम्मान गरिएको थियो। त्यस्तै, एकेडेमीको उत्कृष्ट कर्मचारी पुरस्कारसहित रु १ लाख नगदबाट कर्मचारी लक्ष्मी विश्वकर्मा सम्मानित भइन्।


कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले हेयर ड्रेसिङ पेशा केवल सीपमा सीमित नभई आत्मनिर्भरता, सम्मानजनक रोजगारी र उद्यमशीलताको बलियो आधार बनेको बताए। अरूले के भन्छन् भन्नेभन्दा आफ्नो कामप्रति समर्पित भएर अघि बढ्ने हो भने यही पेशाबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ, उनले भने।


आफ्नो अनुभव सुनाउँदै उनले व्यक्तित्व, व्यवहार र सीपलाई निरन्तर परिष्कृत गर्दै ग्राहकको विश्वास जित्न सके सफलता निश्चित हुने धारणा राखे। उनले बजारमा हेयर ड्रेसिङ र ब्युटी क्षेत्रको सम्भावना अझै विशाल रहेको उल्लेख गर्दै, सीप नै सबैभन्दा ठूलो लगानी हो, जसले विश्वको जुनसुकै कुनामा पनि रोजगारीको ढोका खोल्छ, भने। सेवासँगै व्यावसायिक व्यवहार र विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए।


कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरेले सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता एकेडेमीहरूको भूमिका प्रशंसनीय रहेको बताए।त्यस्तै, आईएसओका प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम प्रदान गरिरहेको पुष्टि गर्दै प्रशिक्षार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरे। उनले आगामी दिनमा पनि गुणस्तर र व्यावसायिकतालाई निरन्तरता दिन आग्रह गरे।


एकेडेमीका सञ्चालक मोहन ठाकुरले संस्थाको सुरुवाती संघर्षदेखि हालसम्मको यात्राबारे जानकारी दिँदै समृद्धिले सीप, रोजगारी र उद्यमशीलतालाई सँगसँगै अघि बढाएको बताए। उनका अनुसार संस्थामा हालसम्म करिब ३ करोड रुपैयाँ लगानी भइसकेको छ भने देशभर ५० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ। साथै, तालिम प्राप्त सयौं युवाले स्वरोजगार तथा विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गरिसकेको उनले जानकारी दिए।


संचालक मध्येका अनिल अर्यालले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा आधुनिक पूर्वाधारसहितको एकेडेमी सञ्चालनमा ल्याइएको हो, जहाँ एकैपटक ४० जनासम्मलाई व्यावसायिक तालिम प्रदान गर्न सकिने क्षमता रहेको छ।समृद्धि एकेडेमीले सञ्चालन गरिरहेको यस्तो कार्यक्रमले सौन्दर्यकला र हेयर ड्रेसिङ क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र रोजगारीमुखी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।समृद्धि बुटवल,तिलोत्तमा र आसपासका जिल्ला र प्रमुख शहरमा पनि संचालित छ। 

कमेन्ट गर्नुहोस्