
रूपन्देही । कुनै समय घरायसी काममा सीमित रहेका तिलोत्तमा नगरपालिका–६ का केही महिलाले सात दिनको तालिमबाट सुरु गरेको यात्रा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। आफूहरू मात्र आत्मनिर्भर बन्ने सोचमा सीमित नरही अरूलाई पनि उद्यमशीलताको बाटो देखाउने अभियानमा उनीहरू सक्रिय छन्।
२०७९ सालको चैत महिनामा सात दिने तालिम लिएपछि छ जना महिलाले २०८० सालदेखि ‘तिलोत्तमा सर्फ उद्योग’ स्थापना गरी ‘कुञ्जल ब्राण्ड’ नामबाट विभिन्न सरसफाइ सामग्री उत्पादन गर्न थाले। सुरुवातमा सानो प्रयासका रूपमा सुरु गरिएको उद्योग अहिले पाँच जनाका लागि नियमित रोजगारीको आधार बनेको छ।उद्योगबाट सर्फ, फिनेल, ट्वाइलेट सफाइ सामग्री, ह्यान्डवास, डिसवास लगायतका सामग्री उत्पादन हुँदै आएका छन्। स्थानीय बजारमा गुणस्तरीय सामग्री उपलब्ध गराउनुका साथै महिलाहरूले आफ्नै सीप र मेहनतबाट आयआर्जनको दायरा पनि विस्तार गरेका छन्।
उद्योगकी संस्थापक उद्यमी सुना श्रीसका अनुसार सुरुवाती दिन सहज थिएनन्। सीमित स्रोत, बजारको चुनौती र नयाँ कामप्रतिको अनिश्चितताका बीच पनि महिलाहरूले आत्मविश्वास गुमाएनन्। निरन्तर मेहनत र लगनशीलताले आज उनीहरूको प्रयास सफलताको उदाहरण बनेको छ।“हामी आफैं मात्र उद्यमी बनेर बस्ने सोचमा छैनौं,” संस्थापक उद्यमी सुना श्रीस भन्छिन्, “हामीले सिकेको सीप अरू महिलासम्म पुर्याएर उहाँहरूलाई पनि आत्मनिर्भर बनाउन चाहेका छौं।”
यही उद्देश्यका साथ उनीहरू रूपन्देही मात्र नभई विभिन्न जिल्ला तथा नगरपालिका र गाउँपालिकासम्म पुगेर तालिम प्रदान गर्दै आएका छन्। सर्फ, फिनेल, ह्यान्डवास, डिसवास तथा अन्य सरसफाइ सामग्री निर्माणसम्बन्धी सीप सिकाउँदै उनीहरूले धेरै महिलालाई स्वरोजगारको बाटोमा अघि बढ्न प्रेरित गरिरहेका छन्।
आधुनिक उत्पादनसँगै स्थानीय स्रोतको उपयोगमा पनि उनीहरूले विशेष ध्यान दिएका छन्। घरआँगनमै पाइने निम, तुलसी, तितेपातीजस्ता जडीबुटीको प्रयोग गरी हर्बल साबुन निर्माण गर्ने सीपसमेत उनीहरूले सिकाउँदै आएका छन्। यसले स्थानीय स्रोतको संरक्षण, स्वास्थ्यप्रति सचेतना र आयआर्जनका नयाँ सम्भावनालाई एकसाथ जोडेको छ।महिलाहरूमा सीप, आत्मविश्वास र अवसर भए गाउँमै बसेर पनि आर्थिक रूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण तिलोत्तमा–६ का यी महिलाले प्रस्तुत गरेका छन्। सात दिनको तालिमबाट सुरु भएको उनीहरूको यात्रा अहिले धेरै महिलाका लागि प्रेरणा बनेको छ। आत्मनिर्भरताको यो अभियानले केवल पाँच जनाको जीवनमा परिवर्तन ल्याएको छैन, समाजमा महिला उद्यमशीलताको नयाँ सन्देश पनि प्रवाह गरिरहेको छ।
सीप, साहस र सामूहिक प्रयासले असम्भव जस्तो देखिने सपना पनि सम्भव बन्न सक्छ भन्ने सन्देश तिलोत्तमा सर्फ उद्योग र ‘कुञ्जल ब्राण्ड’ले स्थापित गरिरहेको छ।
कमेन्ट गर्नुहोस्