लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित

IMG

बुटवल, जेठ ३१ गते । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।


नगरप्रमुख खेलराज पाण्डेले शुक्रबार साँझ नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन भएको हो । उपमहानगरपालिकाले ‘समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर’ भन्ने दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ । पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ । सूचना प्रविधिमैत्री, हरित, सुरक्षित र सुशासित सहर निर्माणमार्फत बुटवललाई आधुनिक तथा व्यवस्थित सहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।


युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उद्देश्यसहित उपमहानगरपालिकाले ‘पढाइसँगै रोजगार’ अभियानलाई थप प्रभावकारी बनाउने भएको छ । सिपमूलक शिक्षालाई रोजगारी र उद्यमशीलतासँग जोड्दै निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बुटवललाई आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न आर्थिक सम्मेलन, पर्यटन सम्मेलन तथा क्षेत्रीय सहकार्यका कार्यक्रम आयोजना गरिने छन् । उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै ‘शिक्षामा सबल, बुटवल अब्बल’ अभियानलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख शैक्षिक विकास कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार सुदृढीकरण गरिने छ ।   

कमेन्ट गर्नुहोस्