लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा श्रम, श्रमिक र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण

IMG

तिलोत्तमा। घरेलु तथा साना उद्योग कार्यालय भैरहवा को आयोजनामा तिलोत्तमा नगरपालिका–१७ शंकरपुरमा श्रमिक, श्रमिक सञ्जाल, उद्योग क्षेत्रका व्यवस्थापक तथा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रमिकको हकहित, सामाजिक सुरक्षा, उद्योग क्षेत्रमा देखिएका चुनौती तथा समाधानका उपायबारे केन्द्रित उक्त कार्यक्रम सहभागितामूलक र अन्तरक्रियात्मक ढंगले सञ्चालन गरिएको थियो।


कार्यक्रममा कार्यालय प्रमुख शारदा भट्टराईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा घरेलु तथा साना उद्योग महासंघ रुपन्देही का अध्यक्ष टंक अधिकारी सहभागी रहेका थिए। कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धी विषयमा सामाजिक सुरक्षा कोष कार्यालयका शाखा अधिकृत ऋषि राम पन्थीले सहजीकरण गरेका थिए भने सामाजिक सुरक्षा कोष कार्यालयका प्रमुख केदार पौडेलले समेत श्रमिक तथा उद्योगीलाई सामाजिक सुरक्षा योजनाको महत्व, लाभ र कार्यान्वयन प्रक्रियाबारे जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन उद्योग अधिकृत मोहन परियारले गरेका थिए।


कार्यक्रममा बोल्दै वक्ताहरूले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा श्रमिक र व्यवस्थापन पक्षबीच समन्वय आवश्यक रहेको बताएका थिए। श्रमिकलाई सुरक्षित, सम्मानजनक तथा व्यवस्थित कार्य वातावरण उपलब्ध गराउनु उद्योग क्षेत्रको दायित्व भएको उल्लेख गर्दै उनीहरूले सामाजिक सुरक्षा योजनामा आबद्धता बढाउनुपर्नेमा जोड दिएका थिए। श्रमिकका समस्या समाधान, श्रम सम्बन्ध सुदृढीकरण तथा उद्योग क्षेत्रमा सकारात्मक वातावरण निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा वक्ताहरूले राखेका थिए।


सहभागीहरूले श्रमिकले भोगिरहेका व्यवहारिक समस्या, सेवा सुविधा, सामाजिक सुरक्षा कोषमा आबद्धता, रोजगारको स्थायित्व, श्रमिक अधिकार तथा उद्योग सञ्चालनमा देखिएका विभिन्न चुनौतीबारे खुला रूपमा सवाल उठाएका थिए। कार्यक्रममा उठाइएका जिज्ञासाको जवाफ सहजीकर्ताहरूले दिएका थिए। श्रमिक र उद्योगी दुवै पक्षका अनुभव तथा सुझाव आदानप्रदान हुँदा कार्यक्रम थप प्रभावकारी बनेको सहभागीहरूको भनाइ थियो।


कार्यक्रमको समापान गर्दै कार्यालय प्रमुख शारदा भट्टराईले श्रम र श्रमिकको हकहितका लागि सामाजिक सुरक्षा कोषमा आबध गर्नु पर्ने भन्दै सबै उद्योग कलकारखाना ब्यापार तथा कम्पनि संगै सरकारी निकायहरुले समेत सामाजिक सुरक्षा कोष लागु गर्नुपर्ने बताएकी थिइन्।अन्तरक्रियात्मक शैलीमा सञ्चालन भएको कार्यक्रममा विभिन्न कम्पनीका श्रमिक, उद्योगी, व्यवसायी, श्रमिक सञ्जालका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले श्रमिक र उद्योग क्षेत्रबीच सहकार्य तथा विश्वासको वातावरण निर्माण गर्न यस्ता छलफल र अन्तरक्रिया निरन्तर आवश्यक रहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्