लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोलपार्कमा माइक्रो बसपार्क उदघाटन

IMG

बुटवल, वैशाख २३ गते । बुटवलको गोलपार्कदेखि छोटो दूरीमा सञ्चालन हुने माइक्रो बसलाई व्यवस्थित गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका-३, गोलपार्कमा माइक्रो बसपार्क उदघाटन भएको छ ।


बुटवल उपमहानगरपालिका-३, गोलपार्कमा सडकभरि जथाभाबी पार्किङ गरी राखिने माइक्रो बसका कारण दुर्घटनाको जोखिम बढेको तथा फोहाेर समेत बढेपछि बुटवल उपमहानगरको पहलमा माइक्रो बसपार्क निर्माण गरिएको हो ।बुधबार बिहान एक कार्यक्रमबिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गोलपार्क माइक्रो बसपार्कको उदघाटन गर्दै सडकभरी लथालिङ्ग रूपमा राखिएका माइक्रोबस अब बसपार्क सञ्चालनमा आएपछि गोलपार्कलाई व्यवस्थित बनाउन सहयोग पुगेको बताउनुभयो ।


उहाँले कुल ५८ लाख रुपियाँ लगानी गरी भिरालो जमिनलाई खारेर शौचालयसहितको राम्रो बसपार्क निर्माण गरिएको बताउँदै यसबाट बुटवल सहर सुन्दरीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले यसअघि सडक किनारमा माइक्रोबस राख्दा दुर्घटनाको जोखिम बढेकोमा माइक्रो बसपार्क निर्माण भएपछि दुर्घटनाको जोखिम कम हुने र यात्रुलाई विभिन्न गन्तव्य मा पुग्न सजिलो हुने बताउनुभयो ।   


बुटवल उपमहानगरपालिका वडा नंं. ३ का वडाध्यक्ष विष्णु ढकालले बुटवलदेखि छोटो रुटका माइक्रो बस यो बसपार्कबाट सञ्चालन हुने बताउँदै बसपार्क निर्माण भएपछि यसअघि जथाभाबी गरिने पार्किङको समस्या समाधान भई सहरको सुन्दरता समेत थपिएको बताउनुभयो ।


उहाँले माइक्रो बसपार्क सानो भएकोले नम्बर लागेको बेलामात्रै माइक्रो बस ल्याउने र नम्बर लगाएर जाने व्यवस्था मिलाउन उक्त रुटमा चल्ने बस सञ्चालकहरूसँग आग्रह गर्नुभयो । यसअघि गोलपार्कदेखि भैरहवा, मङ्गलापुर, सालझण्डी, बर्दघाट लगायतका विभिन्न सानो रुटमा सञ्चालन हुने माइक्रो बस व्यवस्थित बसपार्क नहुँदा सडक किनारमै नम्बर लगाउन राख्ने गरिएको थियो ।


यसैगरी, बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कको टिकट काउन्टरलाई व्यवस्थित बनाउँदै अब बस टर्मिनल भवनबाट सेवा सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको पहलमा मङ्गलबारदेखि टर्मिनल भवनबाट टिकट काउन्टर सेवा सुरु भएको हो । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले अवको एक साताभित्रै सबै टिकट काउन्टर यहीबाट सेवा सुरु हुने बताउनुभयो । नयाँ बसपार्कभित्र लाइटिङ, पङ्खा, चिसो तातो पानीको व्यवस्था गरिएकोले यात्रुलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


बुटवल बस टर्मिनलभित्र याुत्रलाई बस्नका लागि प्रतिक्षालय समेत निर्माण गरिने भएको छ । उक्त बसपार्कभित्र बुटवल उपमहानगरले गत वर्षदेखि स्नानगृहसहितको शौचालयको व्यवस्था गरेको छ । 

कमेन्ट गर्नुहोस्