लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल–गोरुसिङ्गे सडक विस्तारमा ढिलाइ

IMG

बुटवल, वैशाख १९ गते  । माटो अभावका कारण बुटवल–गोरुसिङ्गे सडक निर्माणको काममा ढिलाइ भएको छ । चार महिना अघि दैनिक आठसय कामदार निर्माणको काममा खटिएपनि माटोको समस्याका कारण अहिले भने दैनिक करिब चारसय कामदारले मात्रै काम गरिरहेका छन् । 


बर्षा सुरु हुनु अघिसम्म करिब तीन लाख घनमिटर माटो आवश्यक भएपनि निर्माण व्यवसायीले माटो नपाउँदा समस्या देखिएको हो ।त्यसमाथि अहिले बुटवल र कपिलवस्तु क्षेत्रमा ठूलो पानी परेकोले माटो ल्याउन समेत कठिनाई हुने अवस्था उत्पन्न भएको छ । आगामी वर्ष थप आठ लाख घनमिटर माटो आवश्यक पर्ने बताइएको छ ।  बुटवल– गोरूसिङ्गे सडक आयोजना कार्यालय बुटवलले २०८४ कात्तिक ३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ । निर्माण व्यवसायीले २०८१ कात्तिक १२ गतेदेखि काम सुरु गरेको थियो । निर्माणको काम सुरु भएको डेढ बर्षमा करिव २५ प्रतिशत काम सम्पन्न भएको छ ।  


आयोजना प्रमुख कुशलता न्यौपानेले माटोको अभावका कारण काममा केही ढिलाइ भएको निर्माण व्यवसायीले जनाएको बताउँदै अझैपनि माटो लगायत नदीजन्य पदार्थको सहजीकरण भए निर्धारित समयमै सडक आयोजनाको काम पूरा गर्न सकिने बताउनुभयो ।  


चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लिई काम गरिरहेका छन् ।


सडक विस्तारलाई ५० किलोमिटर दूरीमा दुई खण्डमा विभाजन गरिएको छ । बुटवल–सालझण्डी (२५ किमी) प्रथम चरण र कपिलवस्तुतर्फ गोरूसिङ्गेसम्म (२५ किमी) दोस्रो चरण अन्तर्गत काम भइरहेको छ । सडक स्तरोन्नतिपछि सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र वन क्षेत्रमा २४ मिटर चौडाइको सडक निर्माण हुनेछ । सडकलाई आधुनिक र सुरक्षित बनाउन फ्लाइओभर, अण्डरपास, आकासे पुल तथा वन्यजन्तु क्रसिङ निर्माणको काम भइरहेको छ ।


आयोजना प्रमुख न्यौपानेले माटो र नदीजन्य पदार्थ अभावका कारण काममा ढिलाइ भैरहेको भएपनि पुल र कल्भर्ट निर्माणको काम भने तीब्ररुपमा अघि बढेको बताउनुभयो ।  बुटवल–नारायणगढ सडक विस्तारमा देखिएको सास्ती दोहोरिन नदिन यस आयोजनामा बिचको सडक नभत्काई दायाँ बायाँ निर्माणको काम गर्ने रणनीति अपनाइएको छ । सडकलाई वन्यजन्तुमैत्री बनाउने लक्ष्यसहित १८ वटा अण्डरपास, ६ वटा ओभरफ्लाई, १२ वटा पैदल अण्डरपास र ११ वटा ओभरहेड ब्रिज निर्माण गरिने छ । 

कमेन्ट गर्नुहोस्