
पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले फागुन १२ देखि १५ गतेसम्म निष्कासन गरेको ४५ लाख कित्ता आईपीओको बाँडफाँट नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ। कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका मध्ये ४ लाख ५० हजार आवेदकले मात्र १० कित्ताका दरले सेयर पाएका छन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको र वार्षिक प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ।
२९ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले सर्वसाधारणलाई यसअघि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म अंकित मूल्य १ सयका दरले ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टका अनुसार सो सेयरमा कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका थिए ।
जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन मात्रै स्वीकृत भएका थिए भने बाँकी आवेदन रद्द भएका थिए । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी १९ लाख २६ हजार ७०५ आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिने छ ।
तानसेन ब्रान्डमा ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको यो कम्पनीले भारतमा निर्यात समेत गर्ने गरेको छ । दैनिक १ हजार ८ सय टन क्लिंकर र २ हजार २ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । नवलपरासीको सुनवलमा फ्याक्ट्री सञ्चालनमा छ । कम्पनीको वित्तीय स्थिति मध्यम छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै २०८०/८१ मा ६ करोड ९८ लाख, २०७९/८० मा ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
२०८१/८२ मा वार्षिक प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ । कम्पनीको बिक्री आम्दानी तथा वित्तीय लागतले नाफालाई प्रभाव पार्दै आएको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ (पुनर्मूल्यांकन कोषबाहेक) ११९ रुपैयाँ छ । पुनर्मूल्यांकनसहित १३५ रुपैयाँ छ ।
कमेन्ट गर्नुहोस्