
म्याग्दी, फागुन २९ गते । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा. महावीर पुनले चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ ।
पुनका सहयोग चित्र तिलिजाले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा म्याग्दीमा बुझाएको चुनावी खर्च विवरण अनुसार पुनले २८ लाख ६८ हजार आठसय ६८ रुपियाँ चुनावमा खर्च गर्नुभएको हो । चुनावी खर्च विवरण अनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद तीन हजार, प्रचारप्रसार सामग्री खरिद दुई लाख ९० हजार पाँचसय ७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार नौसय ९८, चालक ज्याला एक लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख सात हजार ६१९, डिजेल खर्च तीन लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार आठसय ७७ रुपियाँ खर्च भएको छ ।
यसैगरी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ३० लाख २८ हजार एकसय २० रुपियाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । श्रेष्ठले बुझाएको विवरणमा मनोनयन दर्तामा १० हजार, एक लाख ५७ हजार, प्रचारप्रसार एक लाख २० हजार, प्रचार सामग्री उत्पादन तीन लाख ६ हजार पाँच सय १०, यातायात तथा इन्धन खर्च तीन लाख, चुनावी अभियान खर्च तीन लाख ७० हजार, वडास्तरीय चुनाव परिचालन खर्च ६ लाख पचास हजार, साउन्ड सिस्टम एक लाख पचास हजार, मतदाता नामावली प्रिन्ट दुईलाख २५ हजार र मतदान प्रतिनिधि खर्च एकलाख ३९ हजार ६२५ रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले १९ लाख ३० हजार रुपियाँ बराबर खर्चभएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । भण्डारीले बुझाउनुभएको विवरणमा मनोनयन दर्ता १० हजार,यातायात खर्च पाँच लाख, इन्धन ८० हजार,मतदान प्रतिनिधि ६ लाख, चुनाव प्रचारप्रसार सामग्री उत्पादन दुई लाख, भण्डा व्यानर ६० हजार र खाजा खाना खर्च ४७ हजार रुपियाँ खर्च भएको उल्लेख छ ।
पुनले २२ हजार आठसय ५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१२ मत ल्याउनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ६ हजार ६७६ मत ल्याउनुभएको थियो ।
कमेन्ट गर्नुहोस्