
सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैँक शाखामा भएको डकैती प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार गत पुस २९ गते साँझ करिब ७ः३० बजे योजनाबद्ध रूपमा बैँकभित्र प्रवेश गरेको डकैत समूहले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै करिब ३ करोड ७ लाख रुपैयाँ लुटेको थियो ।
डकैतहरूले खुकुरी देखाएर गार्ड र कर्मचारीलाई धम्क्याउँदै हातखुट्टा बाँधेका थिए भने मुखमा टेप टाँसिएको थियो । प्रतिकारको प्रयास गर्दा सुरक्षा गार्डमाथि खुकुरी प्रहारसमेत गरिएको र उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा गार्ड र कर्मचारी दुई छुट्टाछुट्टै कोठामा बाँधिएको अवस्थामा फेला परेका थिए । उनीहरूको तत्काल उद्धार गरी उपचार तथा सुरक्षाको व्यवस्था मिलाइएको थियो ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरी उपरीक्षकको कमाण्डमा ५० जनाको विशेष टोली परिचालन गरिएको थियो । सम्भावित नाकाहरूमा कडा निगरानी राख्दै व्यापक खोजतलास अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।खोजतलासकै क्रममा घटनास्थलबाट करिब सात किलोमिटर पूर्व लिपिखोलामा बि ए डि ०३९८ नम्बरको टाटा सुमो र चालक भगवत सिंह थापा फेला परेका थिए । प्रारम्भिक सोधपुछमा बनेपाबाट विवाहको प्रयोजन भन्दै सवारी साधन रिजर्भ गरिएको खुलेपछि चालकलाई नियन्त्रणमा लिइएको थियो ।
त्यसै राति जंगलका विभिन्न स्थानमा बोरा र झोलाभित्र लुकाइएको १ करोड ५० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको प्रहरीले जनाएको छ । भोलिपल्ट थप चार जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा अन्य लुकाइएको रकमसमेत बरामद गरिएको हो ।
अनुसन्धानबाट घटनामा स्थानीय दुई जनाले योजनाकारको भूमिका खेलेको खुलेको छ । प्रहरीका अनुसार घ्याङलेख गाउँपालिका–२ का छविलाल स्याङ्तान र चतुरमान बज्जु घटनाका मुख्य योजनाकार रहेको पुष्टि भएको छ ।
छविलाल स्याङ्तानलाई धरानबाट पक्राउ गरिएको हो भने चतुरमान बज्जुलाई घ्याङलेख–२ को जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरूले असोज महिनादेखि नै बैँकको गतिविधि, सुरक्षा व्यवस्था र रकमको अवस्थाबारे जानकारी संकलन गर्दै आएका थिए ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक उपत्यारा जगन्नाथ गाविस–२ घर भई हाल बनेपा नगरपालिका–१० बस्ने सवारी चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्जु र छविलाल स्याङ्तान, चितवन भरतपुर महानगरपालिका–२ का शशांक श्रेष्ठ, नुवाकोट पंचकन्या गाउँपालिका–५ का मिलन गिरी र विवेक मगर रहेका छन् । साथै एक जना १६ वर्षे नाबालक पनि संलग्न रहेकाले उनको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हालसम्म २ करोड ६६ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद, दुई थान खुकुरी, एक थान नक्कली प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल, नकाब तथा अन्य सामग्री बरामद गरेको छ ।पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनापछि जिल्लाभर सुरक्षा सतर्कता थप कडा पारिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्