
बुटवल। जिल्ला सहकारी संघ लिमिटेडको ४१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघका पूर्व अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा आफ्नो धारणा राख्दै प्रमुख अतिथि पोखरेलले जिल्ला सहकारी संघको विगतको गरिमामय इतिहासलाई जोगाउँदै संस्थालाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। संघमा आवद्ध सहकारी संस्थाहरूले भोग्दै आएका समस्याको समाधानका लागि संघले अग्रणी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै प्रमुख अतिथि पोखरेलले संघको नाममा रहेको जग्गाको संरक्षणका विषयमा समेत कडा कदम चाल्न आग्रह गरे।
साधारणसभामा संघका अध्यक्ष भीम प्रसाद तुलाचनले संचालक समितिको तर्फबाट वार्षिक प्रतिबेदन प्रस्तुत गरे भने महासचिव दामोदर पंगेनीले संस्थागत प्रतिबेदन पेश गरेका थिए। यस्तै, कोषाध्यक्ष सुवकान्त न्यौपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। लेखा सुपरिवेक्षण समितिको तर्फबाट समेत प्रतिबेदन पेश गरिएको थियो।बन्दसत्रमा उक्त प्रतिबेदन उपर गम्भीर छलफल भई सर्बसम्मतले पास गरिएको थियोे।अध्यक्ष तुलाचनको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष टीका न्यौपानेले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव बेल प्रसाद शर्माले गरेका थिए।
संघमा हाल ४ सय ६ वटा सहकारी संस्था आवद्ध रहेका छन्। संघको सेयर पूँजी ४१ लाख २५ हजार रुपैयाँ रहेको छ भने निक्षेप बचत २ करोड ३५ लाख ७७ हजार ९ सय ९९ रुपैयाँ रहेको जानकारी दिइएको छ।संघले हालको कानुनी व्यवस्थाअनुसार आर्थिक कारोबार गर्न नपाउने प्रावधानका कारण ऋण लगानीमा समस्या देखिएको जनाएको छ। साथै, संघको नाममा सिद्धार्थनगर नगरपालिका–८ मा रहेको जग्गा अतिक्रमणमा परेको भन्दै कुनै पनि हालतमा संघको सम्पूर्ण जग्गा फिर्ता ल्याउने निर्णय साधारणसभाबाट अनुमोदन गरिएको छ।
कमेन्ट गर्नुहोस्