
काठमाण्डाै – विश्व बैंक समूहले 'कन्ट्री पार्टनरशिप फ्रेमवर्क फर नेपाल' २०२५–२०३१) सार्वजनिक गरेको छ । आउँदो ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो ।
आज काठमाण्डौमा औपचारिक कार्यक्रमकाबीच फ्रेमवर्क सार्वजनिक भएको हो । कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी फ्रेमवर्क तयार पारिएको बताउनुभयो ।यसले नेपालको १६औं योजनासँग मेल खाने तथा समावेशी आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, प्रतिस्पर्धात्मकता अभिवृद्धि, दिगो सामाजिक सुरक्षा र जलवायु उत्थानशीलताजस्ता नेपालका प्रमुख प्राथमिकतालाई समर्थन गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।फ्रेमवर्क कार्यान्वयनले नेपालको व्यावसायिक वातावरण सुधार, पूर्वाधारको विकास र पर्यटन प्रवर्द्धन तथा शिक्षा र सीप अभिवृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने उहाँको विश्वास छ ।
अर्थमन्त्री पौडेलले सार्वजनिक वित्त व्यवस्थापन, खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।फ्रेमवर्क सार्वजनिक कार्यक्रममा विश्व बैंक समूहका प्रबन्ध निर्देशक वेनचाई झाङले आन्तरिक रोजगारी सिर्जना गरी आर्थिक वृद्धि हासिल गर्ने र प्राकृतिक प्रकोपप्रति सहनशीलता, जलवायु परिवर्तनद्वारा सिर्जित जोखिम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकतामा राखेर यो फ्रेमवर्क ल्याइएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस्