
बुटवल।देशव्यापी सहकारी सुदृढीकरण अभियान अन्तर्गत रुपन्देही र पाल्पा जिल्लाका साना किसान कृषि सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण समिति सदस्यहरू तथा कर्मचारीहरूका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साना किसान लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय बुटवल रुपन्देही र श्री कृषि सहकारी संघ लि को संयुक्त आयोजना रहेको कार्यक्रममा सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता अभिवृद्धि गर्ने विषयमा छलफल र प्रशिक्षण दिइएको छ ।
सोमबार बुटलवस्थित एसियन पार्टी प्यालेसमा आयोजित कार्यक्रमका जिल्ला कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष टिका न्यौपानेले सहकारीको सिद्धान्तअनुसार आर्थिक पारदर्शिता र जवाफदेहिताले समग्र सहकारी र त्यसका सदस्यहरुको बिकास र उन्नतिको बाटोमा डोर्याउन यस्ता तालिमले ठुलो योगदान गर्ने भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो। कुनै पनि सहकारीको उदेश्य अनुरुप उत्पादन र बजारीकरण संग जोडिन पर्ने भन्दै अध्यक्ष न्यौपानेले सहकारीले आर्थिक रुपमा सबल भै सदस्यलाई समेत सफल बनाउन सबैको सहयोग समन्वय र आर्थिक सुशासन हुनुपर्ने बताउनुभयो। सो अवसरमा प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारी संस्थाहरूलाई सही मार्गमा अघि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्यहरू तथा कर्मचारीहरूले जिम्मेवार भई आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरूमा सुशासन स्थापित गर्न र आर्थिक अनुशासन कायम राख्न पारदर्शी व्यवस्थापन महत्वपुर्ण रहने सहभागीहरुलाई बताउनुभयो ।
केही सिमित ब्यक्तिहरु कै कारण हाल देशभरका प्राय सबै सहकारीलाई बदनामी झेल्नुपरेको भन्दै पाठकले अबको केही बर्ष मै हालको अवस्थामा सुधार आउने बताउनुभयो । रुपन्देही जिल्लाका २२ वटा तथा पाल्पाका ६ वटा सहकारीका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र कर्मचारी गरी २८ सहकारी संस्थाबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।जिल्ला कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता एवँ सचिव गोपाल पौडेलको सन्चालन रहेको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा सुपरिवेक्षण समितिका सदस्य, साना किसान विकास लघुवित्त वित्तीय संस्था रुपन्देही शाखाका प्रमुख, प्रदेश संघ तथा जिल्ला संघका पदाधिकारीहरू, साथै प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्