
तिलोत्तमा,माघ १६।आईसीएफसी फाइनान्सले हालै सर्वसाधारणका लागि १ लाख २० हजार कित्ता ऋणपत्र खुलाएको थियो । ९ प्रतिशत ब्याजदरको ऋणपत्रमा तीन दिनमै साढे ७ गुणा बढी आवेदन पर्यो ।९ लाख २ हजार कित्ता ऋणपत्र माग भयो । आवेदन दिएजतिले ऋणपत्र नपाउने स्थिति यसमा बनेको छ । बाँडफाँटका क्रममा यो ऋणपत्र पाउनेले अब पूँजीगत लाभ समेत पाउने छन् । अंकित मूल्य १ हजार लागत परेकामा दोस्रो बजारमा सूचीकृत भइसकेपछि अब योभन्दा धेरै मूल्य पाइनेछ।८ प्रतिशत ब्याजका ऋणपत्र नै बजारमा १ हजारभन्दा बढी मूल्यमा कारोबार भइरहेको छ ।
तसर्थ ९ प्रतिशतको यो ऋणपत्रमा राम्रै पूँजीगत लाभ मिल्न सक्नेछ । चलनचल्तीको भन्दा राम्रो ब्याज र बेच्ने बेला पूँजीगत लाभ पनि मिल्ने भएकाले यति धेरै आकर्षण ऋणपत्रमा देखिएको जानकार बताउँछन् ।ऋणपत्रको प्रतिफल दर सधैं ब्याजदरसँग तुलना हुने गरेको लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले बताए । ‘धेरै ब्याजदर दिएका ऋणपत्रको मूल्य स्वाभाविक रूपमा केही बढी हुन्छ,’ उनले भने, ‘बैंकको निक्षेपमा ब्याजदर घटेका बेला ऋणपत्रमा प्रतिफल बढी देखिँदा आकर्षण बढेको हो ।’प्राथमिक बजारमा मात्र होइन, दोस्रो बजारमा पनि अहिले ऋणपत्रको माग उच्च छ । यही माग उच्च हुँदा मूल्य बढिरहेको छ । १५ महिनाअघि बजारमै ८ सय रुपैयाँमा पाइने गरेका ऋणपत्र अहिले १ हजारमा पनि पाइँदैन ।
१५ महिनाअघि सानिमा बैंकको ‘एसबीडी ८७’ नामक ऋणपत्रको मूल्य ७ सय ९२ रुपैयाँ थियो । पछिल्लो पटक कारोबार हुँदा यसको मूल्य १ हजार २५ रुपैयाँ छ । जम्मा ८.५ प्रतिशत ब्याजदरको यो ऋणपत्रको मूल्यवृद्धिबाट लगानीकर्ताले १५ महिनामै २९ प्रतिशत लाभ लिए । मूल्यवृद्धि मात्र नभई ८.५ प्रतिशत ब्याज पनि बुझे ।मूल्यवृद्धि र ब्याज दुवैबाट उत्कृष्ट प्रतिफल दिनेमा योमात्र होइन, बजारमा सूचीकृत सबै ऋणपत्र छन् ।यसैगरी १५ महिनाअघि प्रभु बैंकको ‘पीबीएलडी ८७’ ऋणपत्रको मूल्य ७ सय ९० रुपैयाँ थियो । साढे ८ प्रतिशत ब्याजदरको यसको पछिल्लो मूल्य पनि १ हजार २५ रुपैयाँ पुगेको छ । यसमा पनि १५ महिनामै मूल्यवृद्धिको लाभ २९ प्रतिशत रह्यो ।यहीं अवधिमा प्राइम कमर्सियल बैंकको ‘पीबीडी ८५’ को मूल्य ३० प्रतिशत बढेको छ । लक्ष्मी बैंकको ‘एलबीएलडी ८६’ को १५ प्रतिशत, एनएमबी बैंकको ‘एनएमबी ८५’ को मूल्य १३ प्रतिशत बढ्यो । यो मूल्यवृद्धि बाहेक थप १० प्रतिशत ब्याज पाक्यो ।
कमेन्ट गर्नुहोस्