
तिलोत्तमा,मङ्सिर ५ गते।नेपाल र स्वीडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापारसम्बन्धी सम्झौता भएको छ । अजरबैजानको बाकुमा चलिरहेको विश्व जलवायु सम्मेलन कोप—२९ मा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।सम्झौतापछि स्वीडेनले नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग गरी हरितगृह ग्यास न्यूनीकरणमा सहयोग गर्नेछ । यो सहयोग कार्बन व्यापारसम्बन्धी कार्यमा प्रयोग गरिनेछ । तर यसका लागि नेपाल सरकारले जलवायु न्यूनीकरणका लागि परियोजना बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ ।
कोप—२६ ले पेरिस सम्झौताको धारा ६ स्वीकृति गरेपछि दुई पक्षीय सम्झौता गरी जलवायु न्यूनीकरणमा काम गर्ने बाटो खुला भएको थियो ।नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले स्वीडेन सरकारसँग हुने दुई पक्षीय सम्झौताको स्वीकृति गरेको थियो । अब सरकारले एनडीसी अनुसारका कार्य सम्पादनका लागि जलवायु न्यूनीकरणका क्षेत्रमा स्वीडेनको सहयोग प्राप्तीको ढोका खुलेको छ । यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कार्बन व्यापारमा भएको पहिलो दुईपक्षीय सम्झौता हो ।
कमेन्ट गर्नुहोस्