लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साना किसान कृषि सहकारी देवदह २५ औं वर्षमा,रजत महोत्सव भब्य

IMG

तिलोत्तमा,२०८१ असोज २० गते।देवदह नगरपालिका वडा नं ६ मा अवस्थित साना किसान कृषि सहकारी संस्था देवदह २५ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा संस्थाले आइतबार २५ औं साधारणसभा तथा रजत जयन्ती स्मारिका विमोचन गर्यो ।कार्यक्रममा बोल्दै नेपाल कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष श्याम बहादुर पाठकले सहकारीको अवधारणा नै किसान र निम्न वर्गिय समुदायबाट भएको बताए । "साना किसान कृषि सहकारीले भुँइ तहबाट नेतृत्व स्थापित गर्दै आएको छ ।" उनले भने, "यसले राउटे समुदायलाई पनि सदस्य बनाएर जंगलबाट समाजसम्म ल्याइपुर्याएको छ ।"


अध्यक्ष पाठकले चेपाङ, मुसहरजस्ता लोपोन्मुख समुदायलाई समेत साना किसानले सदस्य बनाएर उनीहरूको जीवनस्तरमा सुधार ल्याएको उल्लेख गरे । उनले सीप नभएको मान्छे विश्वमा नबिक्ने हुनाले सहकारीले सिपलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । "१ अर्व भन्दा बढी जनसंख्या भएका दुई देशको विचमा रहेका हामीले अब त्यसलाइ बजार मानेर उत्पादनमा जोडिनुपर्छ" उनले भने, "विदेशमा एउटा गाई दिनमा ३ पटकसम्म दुहिएको मैले देखेको छु । अब प्रविधी र उन्नत नश्लको प्रयोगबाट नेपालका किसानले काम गर्नुपर्छ ।"

  

जापानको जाइका नामक संस्था र एसियाली बैंकबाट सहुलियत ऋण र अनुदानको लागि सहकारी बैंकले पहल गरिरहेको र अब साना किसानका सदस्य लगानी नभएर उद्यम गर्नबाट बन्चित हुनु नपर्ने उनको भनाइ छ ।साधारण सभाले अध्यक्ष टिका न्यौपानेको वार्षिक प्रतिवेदन र लेखा संयोजक कल्पना सुवेदीको प्रतिवेदन पारित गरेको छ । अध्यक्ष न्यौपानेको प्रतिवेदनमा ४० बुँदे कार्ययोजना प्रस्तुत गरिएको छ ।


देवदह नगरपालिकाका ८ वटा वडा ( वडा नं ५ देखि १२) मा कार्यक्षेत्र बनाएर काम गरिरहेको साना किसान सहकारीमा ८२० समूह संख्या रहेका छन् भने ४ हजार ३०३ जना शेयर सदस्य रहेका छन् । आगामी वर्ष ९५७ समूह संख्या र ४ हजार ९७३ शेयर सदस्य पुर्याउने लक्ष्य सहकारीले लिएको छ ।सहकारीको शेयर पूँजी ३ करोड ८६ लाख ७ हजार ३०० रुपैयाँ रहेको छ भने कर्जा रकम ४ करोड ८३ लाख ८९ हजार २९४ रहेको छ । ऋण लगानी गर्दा ८ देखि १३ प्रतिशत ब्याज लिने साना किसानको तरलता प्रतिशत २७ दशमलब ४१ रहेको छ । सहकारीको आयकर पछिको खुद नाफा १ करोड ८३ लाख ८५ हजार ३७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । 


सहकारीले वार्षिक साधारणसभा तथा रजत जयन्ती स्मारिका विमोचन कार्यक्रममा शेयर सदस्य र उनका परिवारलाई सम्मान गरेको छ ।  जस अन्तरगत १६ जना उत्कृष्ट कृषि तथा पशुपानल किसान सम्मानित भएका छन् भने ५ जना उत्कृष्ट बचतकर्ता समेत सम्मान गरिएको छ । उत्कृष्ट बाल  बचत,  उत्कृष्ट समूह बचत, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट ऋणी, अन्तर समुहका पदाधिकारी, उत्कृष्ट कर्मचारी,  १५० भन्दा बढी जेष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र एसइईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सहकारीले सम्मान गरेको छ ।

कमेन्ट गर्नुहोस्