लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महावीर पुनलाई मगर महिला संघ लुम्बिनीद्वारा ८ लाख ५३ हजार ७५० रूपयाँ हस्तान्तरण

tillotmacitynews - 2024 May 14 09:32 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ १ गते । नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिले बैज्ञानिक डा महावीर पुनलाई किताब बिक्रीबाट उठेको ८ लाख ५३ हजार ७५० रूपयाँ हस्तान्तरण गरेको छ । मंगलबार रूपन्देहीको योगिकुटीमा आयाेजित एक कार्यक्रमकाबीच बिरगंज स्थित कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग रकम जुटाउने उदेश्यले बैज्ञानिक पुनद्वारा लिखित किताब बिक्रीवितरण बाट प्राप्त भएको साे रकम हस्तान्तरण गरिएको हो ।


उक्त कार्यक्रममा नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुले संघको प्रदेश समिति मार्फत बिक्री भएको ७ लाख ५३ हजार ७५० रूपयाँ र जिल्ला अध्यक्ष निर्मला थापाले एक लाख रूपयाँ बैज्ञानिक पुनलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैज्ञानिक पुनले सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच बन्द अवस्थामा रहेको बिरगंजकाे कृषि औजार कारखाना सञ्चालन गर्ने सम्झौता पछि ११ महिना लगाएर मर्मत सम्भार गरेर सञ्चालन याेग्य बनाए पनि उत्पादनका लागि सरकारले रकम उपलब्ध नगराएपछि किताब प्रकाशित गर्ने र किताब बिक्रीवितरणबाट रकम जुटाउने अभियानमा लागेको जानकारी गराए ।


वैज्ञानिक पुनले यो किताब किनेर सिरानमा राख्ने नभई आफुले पढेर अरूलाई पनि पढ्न लगाउन आग्रह गरेका छन । अभियान सञ्चालन गरेको १११ औं दिनमा तीन प्रदेशका २८ जिल्लासम्म आइपुग्दा हालसम्म ८८ हजार बढी किताब बिक्री भएको बताउदै उनलेे तत्कालका लागि साना साना किसानलाई काम लाग्ने खालका र बलियो औजार बनाउने तयारी भइरहेको जानकारी गराए । आफुहरू किताब बिक्रीवितरण अभियानमा लागे पनि अन्य टोली कस्ता औजार बनाउने भन्ने बिषयमा अनुसन्धानमा जुटेको उनलेे बताए ।


कार्यक्रममा ब्यक्तिगत रूपमै एक लाख मुल्य बराबरको किताब किनेर सहयोग गरेका राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङले बैज्ञानिक डा महावीर पुन देशकै गहना भएको भन्दै उनको अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जाेड दिए । नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष तरामुले रूपन्देही जिल्लामा मात्रै हालसम्म १२ हजार ७०४ किताब बिक्रीबितरण भई ९५ लाख २८ हजार रूपयाँ संकलन भएको जानकारी गराउदै रूपन्देहीबाटै एक करोडकाे किताब बिक्री हुने विश्वास ब्यक्त गरिन् ।


अभियानकाे सुरुमा रूपन्देहीमा १० हजार किताब बिक्री गर्ने लक्ष्य लिएकाेमा हालसम्म १२ हजार ७०४ किताब बिक्री भइसकेको भन्दै उनलेे यस्तै क्रम जारी रहे रूपन्देहीबाट एक करोडकाे किताब बिक्री हुने विश्वास ब्यक्त गरिन् । नेपाल मगर महिला संघ तिलाेत्तमाकि अध्यक्ष राधिका श्रीसले आज बुटवल उपमहानगरपालिका वडा नं १५ काे सेमलार,बुटवकै हिलपार्कमा किताब बिक्रीवितरण गरि बैज्ञानिक डा महावीर पुन आजै रूपन्देहीको देवदह जाने कार्यक्रम तय भएको जानकारी दिइन् । कार्यक्रममा ४/९ जि आर का पुर्व सैनिकहरूले २५ थान किताब खरिद गरेका थिए ।


कमेन्ट गर्नुहोस्