लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुँदै

tillotmacitynews - 2024 Feb 15 11:56 AM
IMG

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । महिला उद्यमीको सशक्तिकरणका लागि शुक्रबारदेखि भैरहवामा दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा आयोजना हुने सम्मेलनमा नेपालभरबाट २ सय ५० देखि ३ सय जना महिला उद्यमी व्यवसायी तथा व्यवसाय संचालनका लागि इच्छुक महिलाको सहभागिता रहने जानकारी बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा दिइएको छ । महासंघको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले समितिले पहिलो पटक सम्मेलन आयोजना गरेको र आगामी वर्षमा प्रत्येक वर्ष सातवटै प्रदेशमा संचालन गरिने बताइन् ।


‘घरायसी कामकाजमै सीमित हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रशस्त हुँदा पनि महिला उद्यमीको रुपमा अगाडि बढ्न सकेका छैनन्,’ सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भनिन्, 'त्यस्ता महिलालाई सशक्तिकरण गराई शिक्षा सहितको आत्मबल प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो ।’ उनका अनुसार, सम्मेलनमा सहभागी महिला उद्यमीबिच आपसमा भेटघाटको माध्यमबाट महिला उद्यमीको संजाल तयार पारिने छ । उनीहरुले उत्पादन गर्ने वस्तुको बारेमा व्यवसायीबीच चिनारी गराई ती वस्तुको बजारीकरण र महिलालाई वित्तीय व्यवस्थामा पहुँचका उपाय खोजी गरिने छ ।


नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा संचालन हुने सम्मेलनमा महिला उद्यमशिलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका संभावना, चुनौती र युवा महिला/स्टार्टअपका लागि गरिएका पहल साथै भएका विषय लगायतका पाँचवटा विषयमा विज्ञ सहितको छुट्टाछुट्टै प्यानलमा छलफल गरिने छ । महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मेलनबाट प्राप्त नतिजालाई दस्तावेजको रुपमा नेपाल सकारसमक्ष बुझाइने बताए । यो सम्मेलनले उद्यमशिलतामा महिलालाई प्रोत्साहित गरी औपचारिक अर्थतन्त्रमा न्यून हिस्सा रहेको महिला उद्यमीको संख्यामा उलेख्य सुधार आउने दाबी उनले गरे ।


सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले स्वदेशमा अवसर नदेखेर विदेसिन खोजेका युवतीलाई स्वदेशमै उद्यमशिलताको संभावनाको बाटो देखाउँदै विदेश पलायन हुने प्रवृत्तिमा सुधार ल्याउन सम्मेलन गरिएको बताए ।

कमेन्ट गर्नुहोस्