लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको टाइगर प्यालेसले तिर्‍यो क्यासिनो बक्यौता ५० करोड, सञ्चालन बाटो खुल्यो

tillotmacitynews - 2024 Feb 01 12:51 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । रुपन्देही तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर वान (प्यालेस) मा विगतमा सञ्चालित क्यासिनोको बक्यौता होटलले नै तिरेको छ । होटलले क्यासिनोको बक्यौता भुक्तानी गरेसँगै अब टाइगर प्यालेसमा क्यासिनो पुनः सञ्चालनको बाटो खुलेको छ । पर्यटन विभागका निर्देशक कालिबहादुर भुजेलका अनुसार टाइगर प्यालेसमा सञ्चालित क्यासिनोले तिर्न बाँकी २२ करोड ६० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेको छ ।


साथै, बैंक ग्यारेन्टीवापत २५ करोड ९० लाख रुपैयाँ तिरेको छ । बक्यौता भुक्तानी र बैंक ग्यारेन्टीसमेत जोड्दा टाइगर प्यालेसले एक साथ करिब ५० करोड तिरेको उनले जानकारी दिए । भैरहवाको टाइगर प्यालेस र काठमाडौंको सांग्रिला होटलमा एकै कम्पनी एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । सांग्रिला होटल अहिले पुनर्निर्माण क्रममा छ ।


एसएचएल म्यानेजमेन्ट कम्पनी नै आफूहरूले खरिद गरेको र दुवै होटलको बक्यौता भुक्तानी गरेको टाइगर प्यालेसका सञ्चालक बुद्धिसागर सुवेदीले बताए ।‘भैरहवाको होटलको बक्यौता पूरै भुक्तानी ग¥यौं, सांग्रिलाको बक्यौता भने बैंक ग्यारेन्टीका रूपमा भुक्तानी गरेका छौं,’ उनले भने । बक्यौता तिरेपछि अब यो होटलले क्यासिनो चलाउन पाउने छ । सोहीअनुसार होटललाई क्यासिनो चलाउन दिने लाइसेन्स समेत नवीकरण गरिएको विभाग निर्देशक भुजेलले बताए ।


सरकारले क्यासिनोको बक्यौता लामो समयसम्म नउठेपछि होटललाई जिम्मेवार बनाउँदै बक्यौता नतिरेसम्म दर्ता नवीकरण नगर्ने नीति लिएको छ । सोहीकारण होटलले क्यासिनोको बक्यौता भुक्तानी गरेको भुजेलले जानकारी दिए ।


टाइगर प्यालेस अहिले नयाँ व्यवस्थापनले किनेर चलाइरहेको छ । एसएचएलबाट नेपालमा लगानी भएको यो होटललाई हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरी सञ्चालनमा ल्याएको हो । तिलोत्तमा–११ कोटिहवामा सञ्चालित यस होटलमा १ सय २ कोठा छन् ।

कमेन्ट गर्नुहोस्