
तिलोत्तमा,२०८० माघ १ गते ।आर्थिक मन्दी, अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा नचलेको जस्ता कारण अरबौं लगानी भएका थुप्रै होटलहरु विक्रिमा र कतिपय बन्द हुंदै गरेको अवस्थामा तिलोत्तमाको हाइवे जानकीनगरमा ४० करोड लगानीमा फरक विशेषतासहितको पूर्णत बिजनेस होटेल ‘द क्राउन इन’ सञ्चालनमा आएको छ ।सेमि स्वीट,डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० रुम सहितको होटलमा सय जना क्षमताको फाइन डाइनिङ बार र रुफ टप बार तथा ३५ जना क्षमताको बिजनेस मिटिङ हल र सय वटा चार पांग्रे गाडी अट्ने पर्याप्त पार्किङ सुविधा रहेको होटेलका सञ्चालक अनन्त थैवले बताए ।
बुटवल–भैरहवा सिक्स लेन सडकको जानकीनगर गेट छेउको प्राइम लोकेसनको २ कठ्ठामा बनेको ६ तले भवनको होटेलमा ग्राहक र पाहुनाका लागि बेस्ट बेड, बेस्ट बाथ र बेस्ट ब्रोडब्याउण्ड (इन्टरनेट) थ्री बी तथा सेफ्टी र सेक्युरिटीलाई उच्च प्राथमिकता दिइएको थैवले बताए ।स्थानीय देखि राष्ट्रिय र वहुराष्ट्रिय कम्पनीका व्यवसायी, उद्योगी, कर्पोरेट सेक्टर, बैंकर तथा आन्तरिक र वाह्य पर्यटक सबैका लागि उचित दरमा उच्च गुणस्तरको सुविधासहित बास बस्ने होटलका रुपमा यसलाई दीगो रुपमा चलाउने आफूहरुको लक्ष्य रहेको थैवले बताए ।‘अरु होटेल भन्दा हाम्रो होटेलमा केही नौलोपन र विशेषताहरु छन्, यो पूर्णत बिजनेस होटेल हो, सबै रुमहरुमा पांचतारे होटेलको स्टाण्डर्ड मेन्टेन गरेका छौं, प्रत्येक रुमका लागि अलग अलग इन्टरनेट राउटर जडान गरेका छौं किनकी अहिलेको दुनियामा मान्छेहरु बरु भोकै बस्न सक्छन् तर गुणस्तरीय इन्टरनेट विना चल्नै सक्दैनन्’–थैवले भने–‘प्रतेक रुमबाट बुटवल र तिलोत्तमादेखि भैरहवासम्मको मनोरम दृश्य देख्न सकिन्छ,प्रतेक रुममा फायर एक्जिट प्रविधि राखेका छौं, जसले गर्दा सुरक्षामा ढुक्क भएर बस्न सकिन्छ ।’
होटेलमा प्रत्येक रुममा चुरोट वा अरु कुनै धुंवा रुमको सिलिङमा अटोमेटिक सोस्ने प्रविधि जडान गरिएको छ । रुमहरुमा जान र रुफ टप बारमा जानका लागि अलग अलग लिफ्ट सुविधा छन् ।होटेलको अर्को विशेषता भनेको विवाह पार्टी ठूला गोष्ठी केही नहुने भएकाले बाह्रै महिना डिस्टर्बमुक्त र शान्त वातावरण हुने थैवले स्पष्ट पारे । रुममा साउण्ड प्रुफ प्रविधि राखिएकाले हाइवेतर्फका रुममा पनि गाडीको कुनै आवाज नसुनिने थैवले बताए ।रेष्टुरेन्ट,बार र हुक्का बारमा मोबाइल चार्जिङका लागि पनि पर्याप्त चार्जिङ प्वाइन्ट र स्मोकिङ जोन बनाइएको छ ।
यस्तै भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन बनाइएको छ । जसले गर्दा शाकाहारी र मांशाहारी खानेहरु ढुक्कले आफ्नो रोजाईको खाना खान सक्ने होटेलका जनरल म्यानेजर देविलाल सोमैले बताए ।मदिरा पिउने ग्राहकहरुलाई एमआरपी मूल्यमै उपलब्ध गराउने नयां विशेषता पनि रहेको उनले खुलाए । ‘गेस्टहरुलाई अन्यत्र भन्दा गुणस्तरीय र फरक अनुभूति सहित पूर्ण सन्तुष्ट बनाउने हाम्रो उद्देश्य हो त्यसैले मदिरा एमआरपी मूल्यमै दिने योजना छ ’– जनरल म्यानेजर सोमैले भने–‘ठूलो लगानीको राम्रो होटेलमा मदिरा असाध्यै महंगो हुन्छ भन्ने परिभाषालाई हामी बदल्न चाहेका छौं ।’पाहुना र ग्राहकलाई सबै सेवामा नौलोपन र फरक विशेषता दिन होटेलको बिल्डिङ र रुम, बाथरुमहरुको डिजाइन मुम्बईको भिमानी एण्ड एशोसिएट्सले गरेको होटेलका एमडी शान्तम थैवले बताए । होटेलमा आफ्नै ब्राण्डको बेकरी क्याफे पनि रहने उनले बताए ।
माघ १ गतेदेखि सफ्ट ओपनिङ भएको होटेलमा तीन महिनासम्म कमी कमजोरी देखिए ग्राहकको फिडब्याक अनुसार सुधारेर नयां वर्ष २०८१ को अवसरमा बैसाखमा ग्राण्ड ओपनिङ गर्ने तयारी भइरहेको एमडी शान्तम थैवले बताए ।आफ्नो देशमा केही हुंदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर मुलुकको विषम परिस्थिति केही वर्षमा पक्कै राम्रो हुन्छ र आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विश्वास र आशा सहित विदेशमा व्यवस्थापन विषयमा मास्टर डिग्री गरेको छोरालाई नेपाल फर्काएर होटेलमा लगानी गरेको सञ्चालक अनन्त थैवले खुलाए ।‘पढेलेखेका बौद्धिक र बिजनेस म्यानले नै नेपालमा केही हुंदैन खत्तम भयो भन्दै सबै विदेश गएर देश कसरी बन्छ’–प्रश्न गर्दै थैवले भने–‘नेपालमा पर्यटन र हस्पिटालिटीमा राम्रो संभावना छ, हामीले गुणस्तरीय सेवालाई सकेसम्म सस्तोमा दिने सोंच राख्यो भने व्यवसाय सफल हुन्छ ।’होटेलमा ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका जनरल म्यानेजर सोमैले जानकारी दिए ।
साभार : बुटवल टुडे / TR Sharma
कमेन्ट गर्नुहोस्