लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका एक व्यवसायीविरुद्ध राजस्व छलीमा मुद्दा दायर

tillotmacitynews - 2023 Dec 21 04:28 PM
IMG

तिलोत्तमा सिटी, पुष ५ २०८० ।  राजस्व अनुसन्धान कार्यालय, बुटवलले बुटवल उपमहानगरपालिका–५, अमरपथमा सञ्चालित एउटा साडी पसल र त्यसका सञ्चालक राजेन्द्र प्रसाद ध्वजुविरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । राजस्व कार्यालय बुटवलले स्थायी लेखा नम्बर ३००२०३४८० रहेको सपना साडी सेन्टरका प्रोपाइटर राजेन्द्र प्रसाद ध्वजुविरुद्ध ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ रुपैयाँ बिगो तथा त्यसको शत प्रतिशत जरिवाना माग गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।


गत वर्षको फागुन २ गते राजस्व अनुसन्धान कार्यालय, बुटवलले विशेष सूचनाका आधारमा उक्त पसल तथा गोदाममा छापा मारेर पसलको मालवस्तुको मौज्दात विवरण, खरिद बिक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । कार्यालयले पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएकोमा सञ्चालकले खरिद स्रोत देखाउन नसकेको र केही मालवस्तु खरिदभन्दा बिक्री बढी गरेको देखिएको भन्दै अनुसन्धान थालेको थियो ।


राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (प्रथम संशोधन) दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी शत प्रतिशत जरिवाना मागदाबी सहित कार्यालयले मुद्दा दायर गरेको छ । साडी सेन्टरका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु भने कार्यालयले छापा मारेदेखि नै राजस्वको सम्पर्कमा नआएको राजस्व कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्