लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

IMG

तिलोत्तमा,मंसीर २५ गते। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन भएकाे छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज सोमवार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा रहेकाे नयाँ बुटवल सबस्टेशनसम्मको झन्डै ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गर्नुभयो । यस खण्डको निर्माण सम्पन्न गरी गएकाे असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा आएकाे थियाे ।


कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाकाे विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा जाेड्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेशनबाट शुरु भई पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नयाँ बुटवल सबस्टेशनसम्मको झन्डै १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले झन्डै १ हजार २०० मेगावाट बिजुली भार बोक्न सक्ने छ ।


उद्घाटन समारोहमा मन्त्री बस्नेतले कालीगण्डकी करिडोर प्रसारण लाइन नेपालको पूर्व–पश्चिम बिजुली जोड्न र अन्तरदेशीय बिजुली व्यापारका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । डेढ वर्षभित्रमा सुक्खायाममा समेत बिजुली आयात गर्न नपर्नेगरी काम भइरहेकाे उल्लेख गर्दै उहाँले २०९२ सालभित्रमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने कार्यदेश र कार्यदिशाका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले सङ्घीय, प्रदेश र पालिका ३ वटै सरकारको एकीकृत र सामूहिक प्रयासमा सिँचाइमा देखिएको विद्युतीकरणको समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।


नयाँ बुटवल सबस्टेशनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौँडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । अहिले हेटौँडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । भारतसँगको बिजुली व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ ।देशभित्र खपत गरी बाँकी भएको बिजुली त्यही प्रसारण लाइनमार्फत भारत निर्यात गरिने छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेशन र सरकार तथा प्राधिकरणको लगानीमा बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ । नयाँ बुटवल– लमही (दाङ) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।



कमेन्ट गर्नुहोस्