लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाँच दिन थपेर सकियो तिलोत्तमाको मेला

IMG

तिलोत्तमा सिटी,१७ मंसिर २०८०। रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तिलोत्तमा उद्योग वाणिज्य संघले संचालन गरेको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव ५ दिन थप गरि समापन गरिएको छ। मंसिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म ३ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको र १० करोड बढीको आर्थिक कारोबार भएको बताउँदै अध्यक्ष गुणानिधि भण्डारीले मेलामा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन्। स्टलधनीको आग्रह र मेलामा सहभागीको चाप बढेकाले १२ गते सकिने मेलामा ५ दिन समय थपिएर आज समापन भएको हो। 


‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ चलेको मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको थियो।कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजीका लागि महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ। मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका २५४ स्टलहरू रहेका थिए।


मेलामा स्थानीय उत्पादनहरुलाई विशेष प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टलको व्यवस्था समेत रहेको थियो। मेलाको अवलोकनको लागि ८० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको महासचिव राजकुमार पाण्डेय बताए । बिक्री भएको टिकटको ५ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि छुट्टाइने महासचिव पाण्डेले बताए ।


कमेन्ट गर्नुहोस्