
तिलोत्तमा ८ कार्तिक २०८०। आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घ्यु निर्यात गर्यो । नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घ्यु एक निजी कम्पनीले खरिद गरेर जापानमा निर्यात सुरु गरेको थियो ।नेपालबाट पहिलो पटक सरकारी संस्थानमा उत्पादन भएको घ्यु जापान निर्यात सुरु भएपछि यसले नेपाली घिउ निर्यातमा नेपालको सम्भावनालाई उजागर गर्यो । यही सम्भावनालाई टेकेर निजी क्षेत्रबाट घ्युको निर्यात पहल थप बिस्तार हुँदा निर्यात सुरुआतको ३ वर्षमै नेपाली घ्यु ५ वटा मुलुकमा निर्यात भएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत ३ आर्थिक वर्षमा नेपालले ४ करोड २६ लाख ७६ हजार ७४ रुपैयाँको घ्यु निर्यात गरेको छ।आर्थिक वर्ष ०७७/७८ मा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको घ्यु बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष ०७८/७९ मा एक करोड ९३ लाख ५२ हजार १०६ रुपैयाँको घ्यु जापान, क्यानडा, भारत र हङकङमा निर्यात भएको छ । जसमा एक करोड ८७ लाख रुपैयाँको घ्यु जापान मात्र निर्यात भएको थियो । क्यानाडामा सो वर्ष १ लाख ९० हजार रुपैयाँको घ्यु निर्यात भयो भने भारतमा ३ लाख ९१ हजार रुपैयाँ र हङकङमा ६६५ रुपैयाँको घ्यु निर्यात भएको थियो ।यस्तै, गत आर्थिक वर्ष एक करोड ८६ लाख १९ हजार ९४६ रुपैयाँको १६ हजार ६७० किलो घ्यु जापान र अष्ट्रेलिया निर्यात भएको छ । वर्षभरी जापानमा एक करोड ६० लाख ४८ हजार ६७२ रुपैयाँको घ्यु निर्यात हुँदा अष्ट्रेलियामा नेपालबाट २५ लाख ७१ हजार २७४ रुपैयाँको घ्यु निर्यात भएको केन्द्रले जनाएको छ ।
नेपालबाट निर्यात हुने घ्युकोे उत्पादन कम्पनी नेपाल दुग्ध विकास संस्थान (डीडीसी)का अनुसार अहिले मासिक ५ हजार लिटर घ्यु नेपालबाट निर्यात भइरहेको छ ।चालु आर्थिक वर्षको भदौसम्म नेपालले ५९ लाख ३२ हजार रुपैयाँ बराबरको ६ हजार ६१६ किलो घ्यु निर्यात गरेको छ । जसमा भारततर्फ ५५लाख ७४ हजार रुपैयाँको ५ हजार किलो घ्यु निर्यात भएको छ । यस अवधिमा अष्ट्रेलियामा ३ लाख ५७ हजार रुपैयाँको एक हजार ६१६ किलो घ्यु निर्यात भएको छ ।
कमेन्ट गर्नुहोस्