लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मौसम खराब हुँदा रामेछापबाट लुक्लाका ३० उडान अवरुद्ध

tillotmacitynews - 2023 Oct 04 04:17 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १७ गते । मौसममा खराब भएपछि बुधबार रामेछापबाट लुक्लाका लागि तय भएका सम्पूर्ण उडान अवरुद्ध भएका छन् । मूख्य पर्यटकीय सिजनमा लुक्लातर्फ जाने हवाई यात्रुहरु रामेछाप विमानस्थल आसपास बिहानैदेखि अलपत्र छन्। रामेछाप र लुक्ला दुवैतर्फ मौसम नखुल्दा बुधबार बिहानबाट अपरान्हसम्म कुनै उडान हुन सकेका छैनन् । लुक्लातर्फको मौसम खराब भएकाले बुधबार हेलिकप्टरको उडान समेत हुनसकेको छैन । लुक्लाको मौसम बिग्रिएका बेला पर्यटकहरु हेलिकप्टरमार्फत लुक्ला वा नजिकैको सुर्केसम्म जाने गरेका थिए । रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख अशोक थापाका अनुसार निजी हवाई कम्पनीका जहाज बिहानैदेखि रामेछाप विमानस्थलमा पार्किङमै छन् । तारा, सिता र समिट एयरले बुधबारका लागि लुक्लामा ३० उडान गर्ने तालिका बनाएका थिए । त्यसका लागि तारा, सीता र समिट एयरले २/२ वटा जहाज मंगलबार बेलुकादेखि रामेछाप विमानस्थलमा तयारी अवस्थामा राखेका थिए ।


रामेछापबाट लुक्ला उडान नभएपछि लुक्लाबाट काठमाडौंतर्फको उडान पनि हुनसकेको छैन । नेपाल नागरिक उडड्यन प्राधिकरणले सगरमाथातर्फ जाने मुख्य पर्यटकीय सिजनमा काठमाडौंबाट लुक्लाको उडान रामेछाप विमानस्थलबाट गर्ने गरी वायुसेवा कम्पनीलाई निर्देशन दिएपछि यस महिनाको सुरुदेखि नै रामेछाप–लुक्ला उडान हुन थालेको हो । रामेछापबाट काठमाडौंका लागि भने उडान तालिका छैन ।

कमेन्ट गर्नुहोस्