
तिलोत्तमा सिटी, असोज ७ गते । रुपन्देहीमा होटेल व्यवसायीहरू मात्रै आबद्ध छुट्टै नयाँ संस्था होटेल एसोसिएसन अफ रुपन्देही नेपाल गठन भएको छ ।व्यवसायीहरूको बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रवीणबहादुर पाठक अध्यक्ष रहेको होटेल एसोसिएसन अफ रुपन्देही नेपाल तदर्थ समिति गठन गरेको हो ।होटेल एसोसिएसन नेपाल (हान) मा आबद्ध हुने गरी गठन भएको एसोसिएसनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र छपिया क्षेत्रका पाँचतारे सहित करिब ५० वटा होटेल आबद्ध रहेका छन् । आफ्नै प्रोपर्टी (जग्गा) मा बनेका र अधिकांश एकल लगानीका स्तरीय होटेलहरू मात्रै एसोसिएसनमा आबद्ध रहेका छन् । एसोसिएसनको उपाध्यक्ष दिलीप गौचन, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रणदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहेका छन् । एसोसिएसनमा अन्य होटेलहरू पनि थपिने क्रममा रहेका संस्थाले जनाएको छ ।
जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधा दर्जन बढी संस्था क्रियाशील भए पनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आबद्ध जिल्ला व्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रूपमा काम गर्ने गरी दर्ता गरिएको अध्यक्ष पाठकले बताएभेलामा सहभागी संस्थाका सल्लाहकारहरू एवं हानका केन्द्रीय सदस्य गोपाल राना, अग्रज व्यवसायी माधव नेपाल, महेन्द्रनारायण श्रेष्ठ लगायतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन, बुटवल–नारायणगढ सडक निर्माण छिटो पुरा गराउन सरकारलाई दबाब दिनुपर्ने खाँचो औँल्याए ।
कमेन्ट गर्नुहोस्