
तिलोत्तमा सिटी । असार २९ गते । सधैँ घाटाको व्यापार गर्ने भनिएको नेपाल आयल निगमले यो वर्षको ११ महिनामा १७ अर्ब नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष ४९ अर्ब घाटामा रहेको निगमले यो वर्ष फाइदाको व्यापार गरेको हो । गत आर्थिक वर्षमा भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्नका लागि निक्षेपमा रहेको रकम र सरकारसँग ऋण लिएको निगमले यो वर्ष नाफा कमाएको हो । भारतीय आयल निगम (आइओसी) लाई तिर्न बाँकी रहेको २४ अर्ब बक्यौता रकम तिरिसकेको छ । निगमले चालू आर्थिक वर्षको सुरुदेखि नै पेट्रोलियम पदार्थको खरिद मूल्यभन्दा बिक्री मूल्य बढी राखेर नाफा कमाएको प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनले भने, “गत आर्थिक वर्षमा भारतबाट बढी मूल्यमा पेट्रोलियम पदार्थ ल्याएर कम मूल्यमा बेच्नुपरेको थियो । यस वर्ष खरिद मूल्य कम र बिक्री मूल्य बढी राखेकाले निगमले १७ अर्ब नाफा कमाएको हो ।’’ निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर समान नौ रुपियाँ, मट्टितेलमा प्रतिलिटर २४ रुपियाँ, आन्तरिक हवाइतर्फ प्रतिलिटर २६ रुपियाँ , अन्तर्राष्ट्रिय हवाइतर्फ प्रतिलिटर ४२ रुपियाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १० रुपियाँ नाफा राखेको छ ।
नयाँ मूल्य अनुसार भारतबाट पेट्रोल प्रतिलिटर १६१.३९ मा खरिद गरेर १७० रुपियाँमा बेच्दै आएको निगमले डिजेल प्रतिलिटर १४१ मा ल्याएर १५० रुपियाँमा बेचेको छ । मट्टितेल प्रतिलिटर १२६ रुपियाँमा ल्याएर १५० रुपियाँमा बिक्री गर्छ । आन्तरिक हवाईतर्फ प्रतिलिटर ११०.६४ रुपियाँमा खरिद गरेर निगमले १३६ रुपियाँमा बिक्री गरिरहेको छ । यस्तै खाना पकाउने एलपी ग्याँस प्रतिसिलिन्डर एक हजार ७९० रुपियाँमा ल्याएर एक हजार आठ सय रुपियाँमा बिक्री गर्दै आएको छ । यो मूल्य स्थिर भए १५ दिनमा निगमलाई एक अर्ब ६० करोड रुपियाँ नाफा हुने अनुमान छ । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । गत आर्थिक वर्ष २०७८÷७९ को तुलनामा यो आर्थिक वर्ष २०७९÷८० को जेठ मसान्त पेट्रोलियम पदार्थको आयात घटेको छ । यो आर्थिक वर्षको जेठ मसान्तसम्म पेट्रोलको आयात १७.५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको जेठसम्म छ लाख ७६ हजार ५१२ किलोमिटर पेट्रोल आयात भएको थियो भने चालू आर्थिक वर्षको जेठसम्म पाँच लाख ५७ हजार ८६४ किलोलिटर आयात भएको छ ।
कमेन्ट गर्नुहोस्