
तिलोत्तमा सिटी । चैत्र ३० गते । भोलि वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ । बुधवार बसेको बैंकर्स सङ्घको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय गरेको हो । सङ्घका अनुसार मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ । यस्तै, साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति गरेका बैङ्कहरूले कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर निर्धारण गर्ने निर्णय भएको संघले जनाएको छ । अहिले साधारण बचतमा बैङ्कहरूले ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।
कर्जाको ब्याजदर के हुन्छ ? अब कर्जाको ब्याजदर पनि केही सस्तिने अवस्था छ । माघदेखि चैतसम्म घटेको निक्षेपको ब्याजदरको आधारमा बेस रेट जति घट्छ सोही अनुपातमा १ वैशाखदेखि कर्जाको ब्याजदर घट्ने छ । तर, आगामी १ वैशाखदेखि निक्षेपको ब्याजदर घटे पनि यसको प्रभावअनुसार कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्ने छ । राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।
कमेन्ट गर्नुहोस्