
तिलोत्तमा,२०७९ चैत्र १०। रुपन्देहीका निर्माण व्यवसायी विशेश्वरप्रसाद बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्यालले सिद्धार्थनगर नगरपालिकाका कर्मचारीलाई अपशब्द बोल्ने तथा अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले ग्लोबल आवाजलाई बताए ।नगरपालिकाले पत्राचार गरी अरोपित बस्यालले अभद्र व्यवहार गरेको भन्दै नियन्त्रणमा लिन माग गरेपछि घटना अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अर्यालले बताए । निर्माण व्यवसायी बस्यालले सिद्धार्थ नगरका प्राविधिक शाखाका सव इन्जिनियर पदमा कार्यरत कर्मचारी अधिश ढकालमाथि अभद्र व्यवहार गरेको आरोप छ । घटना बारे थप अनुसन्धान गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर–४ मा रहेको सुजाता भूमिचेतन विहारको बाउन्ड्री वाल निर्माणको ठेक्का पाएका बस्याल र निरीक्षणमा रहेका प्राविधिक ढकाल बीच हिजो चैत्र ८ गते बुधबार निर्माण स्थलमै भनाभन भएको थियो । १० लाख बराबरको उक्त बाउन्ड्री वालमा क्यान्टिटी नपुगेपछि उक्त काम पूरा गर्न प्राविधिक ढकालले यसअघिनै निर्देशन दिएका थिए ।
नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीका अनुसार ढकालले काम पूरा गर्न दिएको निर्देशनपछि बुधबार पुन अनुगमनमा गएको समयमा निर्माण व्यवसायी बस्यालले अभद्र व्यवहार गरेका थिए । आफूमाथि अभद्र व्यवहार हुनुका साथै ज्यानको समेत जोखिम रहेको बताउँदै सव इन्जिनियर ढकालले नगरपालिकामा निवेदन पेश गरेपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग सहयोग मागेको सूचना अधिकारी ज्ञवालीले बताए । निर्माण व्यवसायी बस्याल भैरहवा भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष हुन् ।
कमेन्ट गर्नुहोस्