
तिलोत्तमा सिटी न्युज, कार्तिक ०९ गते २०७९। बैंकहरुको कर्जा झनै महँगिदै गएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकको आधार ब्याजदर (बेस रेट) बढेको छ । असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरुको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेन गर्छ ।बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै कोषको लागत बढ्यो भने आधार ब्याजदर (बेस रेट) पनि बढ्न पुग्यो । आधार ब्याजदर वृद्धिसँगै बैंकिङ कर्जाको ब्याजदर पनि बढेको हो । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र बढाउन सकिने व्यवस्था राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा छ । साथै यसरी आधार ब्याजदर बढेको आधारमा एक त्रैमासमा एकपटक मात्र कर्जाको ब्याजदर वृद्धि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा गत आर्थिक वर्ष २०७८/७९ केा प्रथम त्रैमासको तुलनामा बैंकहरुको बेसरेट २ देखि ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । मेगा बैंकको भने बेसरेट १.०३ प्रतिशत बिन्दुले वृद्धि हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ४.०८ प्रतिशत विन्दुले वृद्धि भएको छ ।बैंकहरुले आधार ब्याजदर गणना गर्दा कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र सञ्चालन लागत प्रतिशत हिसाब गर्ने गर्छन् । चालु आर्थिक वर्षबाट राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात वृद्धि गर्ने निर्णय गरेको छ । जसले बैंकहरुको बेस रेट थप बढ्न पुगेको छ ।
बैंकहरुले कर्जा लगानी गर्दा बेस रेटमा कर्जाको जोखिमको आधारमा प्रिमियम जाड्नुपर्ने हुन्छ । कर्जा जोखिम र राष्ट्र बैंकले उक्त कर्जालाई दिएको जोखिम भारलाई मध्यनजर गर्दै प्रिमियम निर्धारण हुने गर्छ । आवधिक प्रकृतिको कर्जामा एक पटक निर्धारण भएको पि्रमीयम ऋणीको सहमतिबिना घटबढ गर्न पाइदैन । तर, नवीकरण गर्ने कर्जाको भने वाषिर्क रुपमा नवीकरण गर्दा प्रिमियम तलमाथि हुन सक्छ ।यस आधारमा यसअघि नै लगानी भइसकेको कर्जामा भने प्रथम त्रैमासमा आधार ब्याजदरमा भएको वृद्धिअनुसार कर्जाको ब्याजदर बढ्नेछ । तर, नयाँ कर्जामा भने बैंकहरुले यसअघि नै कात्तिकको लागि कर्जाको ब्याजदरमा लाग्ने प्रिमियम प्रकाशित गरिसकेको छन् । बेस रेटमा बैंकहरुले प्रकाशित गरेको प्रिमियम दर जोडेर कर्जाको ब्याजदर तय हुनेछ ।
बैंकहरुले कात्तिकको लागि बेेस रेटमा अधिकत साढे ८ प्रतिशतसम्म प्रिमियम लिने गरी कर्जाको ब्याजदर प्रकाशित गरेका छन् । सामान्यतयाः बेस रेट कम भएको बैंकको कर्जाको ब्याजदर पनि कम हुने भने बढी भएको बैंकमा कर्जाको ब्याजदर पनि बढी हुने गर्छ ।बैंकहरुले चालु आर्थिक वर्षमा प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा असोजको बेस रेट पनि प्रकाशित गरेको छन् । प्रथम त्रैमासको औसत बेसरेटको आधारमा कर्जाको ब्याजदर निर्धारण हुन्छ । तर, कतिपय बैंकले असोजको मात्रै बेसरेट प्रकाशित गरेको छन् भने कतिपय बैंकले औसत बेसरेट प्रकाशित गरेका छन् ।त्रैमासिक औसत बेसरेट ननिकालेका बैंकहरुको औसत गर्दा बेसरेट केही घट्न सक्छ । असारकै ब्याजदर साउन र भदौमा पनि दिएको बैंकहरुले असोजमा जति कम बेसरेट त्यही बैंकमा कर्जाको ब्याजदर पनि कम हुन्छ, राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.४ प्रतिशतको अधिकतम सीमा ताकेकोले बैंकहरुले कर्जाको ब्याजदरमा प्रिमियम निर्धारण गर्दा त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।
सात बैंकको बेसरेट एकल अंकमा
असोजको अपरिस्कृत वित्तीय विवरणअनुसार सबैभन्दा कम बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ ।यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ । बाँकी रहेको १९ बैंकको बेसरेट दोहोरो अंकमा पुग्दा सबैभन्दा धेरै सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सिभिल बैंकको बेसरेट ११.०९ प्रतिशत पुगेको छ ।अन्य १७ वटा बैंकको बेसरेट १० देखि ११ प्रतिशतको बीचमा रहेको छ ।
कमेन्ट गर्नुहोस्