
तिलोत्तमा सिटी न्युज, असोज २८ गते । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न आजबाट सुरु हुँदैछ । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागेको हो । यो आयोजनाबाट मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन हुने सिंचाइ मन्त्री पम्फा भुसालको भनाइ छ ।
अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले शुक्रबारदेखि मरिनखोला तर्फबाट सुरुङ खन्न सुरु गर्ने आयोजना प्रमुख मित्र बरालले बताए । ‘यो ठ्याक्कै भरी–बबई डाइभर्सन परियोजनामा प्रयोग भएको प्रविधि हो,’ उनले भने, ‘टीबीएममार्फत आधुनिक प्रविधि प्रयोग गरेरै यो सुरुङमार्ग समयमै खनिसक्ने लक्ष्य लिएका छौं ।’ आयोजना प्रमुख मित्र बरालका अनुसार ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ । भौगर्भिक रुपमा कुनै समस्या नआए निर्धारित समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने उनले बताए ।
कमेन्ट गर्नुहोस्