लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जलविद्युतको प्रयोग गरेर गुणस्तरीय जीवन जिउन सकिन्छ : मन्त्री भुसाल

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २८ गते २०७९।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको उचित प्रयोग गरेर गुणस्तरीय जीवन जिउन सकिने बताउनुभएको छ । नेपालको सन्दर्भमा कृषि, पर्यटन र जलविद्युतको अधिकतम प्रयोग गरे विद्यमान गरिबी हटाउन सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा मानव विकास सूचकाङ्कमा थप सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।


संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम(युएनडिपी)को मानव विकास प्रतिवेदन आज काठमाडौंमा सार्वजनिक गर्दै मन्त्री भुसालले मानव जीवनका लागि ऊर्जा अपरिहार्य रहेको र स्वच्छ ऊर्जाको स्रोत प्रर्याप्त भएको नेपालले विश्वलाई योगदान पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ महामारी, विभिन्न प्राकृतिक बिपत्ती, पछिल्लो समय विश्वमा देखा परेका अस्थिर घटनाक्रमका बाबजुत पनि नेपालले मानव विकास सूचकाङ्कमा आफ्नो स्थान स्थिर कायम गर्न सफल भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा गुणस्तरीय जीवन प्राप्तिका लागि थप काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।


पछिल्लो दशकदेखि मानिसमा बढ्दै गइरहेको तनाव, उदासी, क्रोध र चिन्ता अहिलेसम्मकै उच्च स्तरमा पुगेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “संसारभरका मानिसहरू बढी दुःखी महसुस गरिरहेका छन् । मानसिक स्वास्थ्य सङ्कटले मानव विकासमा बाधा पु¥याउनुका साथै मानव स्वतन्त्रता र उनीहरूका अवसरलाई सीमित गरेको छ । यी चुनौतिको सामना गर्न विश्वले शिक्षा र स्वास्थ्य सेवामा परम्परागत शैलीलाई परिवर्तन गर्नुका साथै यसको पहुँचलाई उल्लेख्य रूपमा विस्तार गर्न आवश्यक छ ।”


असमानता, जलवायुजन्य विपद्, द्रुत प्राविधिक नवप्रवर्तन, अप्रत्यासित महामारीजस्ता कारणले मानव प्रगतिलाई चुनौति दिएको उल्लेख गर्दै उहाँले प्राकृतिक सुन्दरता र स्रोत साधनले भरिपूर्ण हाम्रो देश नेपालले मानव विकास सूचकाङ्कमा अझै प्रगति गर्नुपर्नेमा जोड दिनुभयो ।


स्वच्छ ऊर्जा(जलविद्युत)को भरपुर प्रयोग गरेर मानव विकास महत्वपूर्ण सहयोग पुग्ने विश्वास उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “गुणस्तरीय जीवन यापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक छ । त्यसका लागि सरकारले ‘पहिले विद्युत उज्यालोका लागि, अबको विद्युत उज्वल भविष्यका लागि’ अभियान सुरु गरेको छ ।” औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिँचाइका साथै विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यको लागि ऊर्जाको प्रयोग गरिने र मानव विकासमा महत्वपूर्ण योगदान गर्ने मन्त्री भुसालको भनाइ छ ।


युएनडिपीले आज सन् २०२१ र २०२२ को ‘अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकमा मानव विकास प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार मानव विकास ‘भ्यालू’ नेपालको अवस्था स्थिर रहेको छ ।

कमेन्ट गर्नुहोस्