
तिलोत्तमा सिटी न्युज, भदौ १४ गते २०७९। नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडी चार्जबापत शुल्क तोकिएभन्दा बढी लिन नपाइने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कतिपय निजी क्षत्रेका चार्जिङ स्टेसनले तोकिएको भन्दा बढी महसुल दिएर गाडी चार्ज गराइरहेको पाइएको बताएका छन् ।सोमबार रत्नपार्कमा आयोजित कार्यक्रममा घिसिङले खुर्कोट लगायतका क्षेत्रमा स्थापना भएको चार्जिङ स्टेसनले तोकिएको भन्दा बढी महसुल लिएको भन्दै त्यसलाई नियन्त्रण गर्ने दिए ।‘प्रतियुनिट १५ रुपैयाँसम्म लिएको सुनियो,’ उनले भने,’हामीले उपलब्ध गराएको बिजुलीको प्रतियुनिट दरमा थप २० प्रतिशत सेवा शुल्क जोडेर मात्रै शुल्क लिन पाइन्छ ।’उनले बढी चार्जिङ शुल्क नपाइने र त्यसलाई प्राधिकरणले हेर्ने बताए । अहिले सार्वजनिक चार्जिङ स्टेसनहरुले सिजन र समयअनुसार प्रतियुनिट ४.४५ रुपैयाँदेखि ८.७० रुपैयाँसम्म महसुल तिर्नपर्छ । यसमा २० प्रतिशत सेवा शुल्क जोडेर सेवा शुल्क लिन पाइन्छ ।
प्राधिरकणले निजी आवास, कार्यालयहरु एवम् र्फम/कम्पनी/संस्थामा निजी चार्जिङ स्टेसन स्थापना गर्न अनुमति दिन थालिसकेको छ । विद्युत नियमन आयोगबाट तोकिएको विद्युत महसुलबाहेक अतिरिक्त सेवा शुल्क लिन नपाउने गरी स्वीकृत प्राप्त व्यक्ति/संस्था/कम्पनीको निजी घर कम्पाउण्डमा जडित चार्जिङ स्टेसन स्थापना गर्न सकिन्छ ।चार्जिङ स्टेसनका लागि तोकिएको दररेटमा रातको समयमा विद्युतीय सवारी सस्तो मूल्यमा चार्ज गर्न सकिन्छ । सार्वजनिक स्थल एवम् निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न नेपाल सरकारबाट स्वीकृत प्राप्त निकाय/र्फम/व्यक्ति/ कम्पनीलाई अनुमति दिन सकिने गरी विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली २०७८ ल्याइसकेको छ।
विनियअनुसार सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्नेले नेपाल सरकारबाट समय समयमा जारी हुने निर्देशनको पालना गर्नु पर्ने हुन्छ । प्रत्येक सार्वजनिक चार्जिङ स्टेसनमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि विसनियमावलीले तोकेको छ । ११,०००/४०० वा ३३,०००/४०० भोल्टको सबस्टेसन ट्रान्सफरमर, लाइन, केवल, टर्मिनेसन, मिटरिङसहितका सम्पूर्ण सुरक्षा उपकरण अनिवार्य गरिएको छ । गाडी पार्क तथा चार्जिङ हुने क्षेत्रफल र सो सम्बन्धी सिभिल काम भएको हुनुपर्छ ।
गाडी प्रवेश गर्ने, चार्जिङ्ग गर्ने र निकासको लागि पर्याप्त ठाउँ, तोकिएका चार्जरहरु मध्ये कम्तिमा कुनै एक प्रकारको चार्जर जडान गरेको हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । चार्जिङ सेवा प्रदायकहरुले आवश्यक भएमा चार्जिङ बोर्डमा थप चार्जरहरू स्थापना गर्न सक्नेछन्, त्यसको लागि नेपाल विद्युत प्राधिकरणबाट पूर्व स्वीकृति लिएको हुनुपर्छ ।चार्जिङ सेवा प्रदान गर्नका लागि सेवा प्रदायकले नेपाल विद्युत प्राधिकरण वा अन्य कुनै अनलाइन नेटवर्क सेवा प्रदायकहरुसँग सम्झौता गरी चार्जिङ्ग सेवा प्रदान गर्नुपर्छ । नियमअनुसार चार्जिङ सेवा प्रदायकहरुले चार्जरका हरेक स्लटहरूको अगि्रम रिमोट/अनलाइन बुकिङ गर्ने प्रणाली अपनाउनु पर्छ । यस्तो अनलाइनमार्फत प्रदान गरिने जानकारीमा स्थान, चार्जरको प्रकार रसंख्या/उपलब्धता आदि सम्बन्धी जानकारी पनि समावेश हुनुपर्ने व्यवस्था गरिएको छ ।प्राधिकरण बाहेकका नेटवर्क सर्भिस दिनेसँग सेवा लिने सेवा प्रदायकले आफ्नो चार्जिङ स्टेसनका डाटाहरु प्राधिकरणको प्रणालीसँग सेयर गर्नुपर्ने व्यवस्था पनि छ । यसका लागि प्राधिकरणबाट समय समयमा जारी हुने मापदण्ड, कार्यविधि र निर्देशनहरु पुरा गरेको हुनुपर्ने प्राधिकरणको विनियमावलीमा उल्लेख छ ।
चार्जिङ सेवाप्रदायकले आवश्यक ठानेका अन्य सुविधाहरू जस्तैः होटल, रेष्टुरेन्ट, हेयर कटिङ्ग, स्पा, व्यायामशाला आदि पनि थप गर्न सक्नेछ। विद्युतीय सवारी चार्जिङ स्टेसनबाट ठूलो ब्याट्री क्षमताका बस/ट्रकहरु पनि चार्ज गर्ने योजना छ भने तोकिएका अतिरिक्त पूर्वाधारहरु उपलव्ध गराउनु पर्नेछ ।सार्वजनिक चार्जिङ स्टेसनमा जडान हुने विद्युतीय सवारी साधन सर्भिस उपकरणलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त एजेन्सीले परीक्षण प्रमाणित गरेको हुनु पर्ने छ । त्यस्ता उपकरणहरु विगत ३ वर्ष देखि विश्वका विभिन्न देशहरुमा प्रयोग भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।सार्वजनिक चार्जिङ स्टेसनमा पर्याप्त स्थान उपलव्ध भएमा स्ट्यान्डअलोन ब्याट्री स्वापिङ सुविधाहरू पनि थप गर्न सक्ने व्यवस्था पनि छ ।निजी व्यक्ति/कम्पनी एवम् सार्वजनिक यातायात संचालकले आफ्नो व्यक्तिगत/आन्तरिक प्रयोजनको लागि चार्जिङ पूर्वाधार निर्माण गर्दा सार्वजनिक चार्जिङ स्टेसनलाई तोकिएको मापदण्ड तथा प्रकृया पुरा गर्न आवश्यक पर्ने छैन । तर, प्राधिकरणको डाटा प्रणालीमा आवद्ध भने गराउनुपर्ने नियम छ ।
कमेन्ट गर्नुहोस्