
तिलोत्तमा सिटी न्युज, भदौ १० गते २०७९।निर्माण सुरु भएको ८ वर्षपछि बुटवलमा काठमाण्डौं बाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । बुटवल–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र निर्माणको काम पूरा भएको हो । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा सम्मेलन केन्द्र तयार भएको छ ।पूर्व अर्थमन्त्री तथा रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले आफ्नो ड्रिम प्रोजेक्टका रुपमा लिएको सम्मेलन केन्द्र निर्माणका लागि पार्टीको आठौं महाधिवेशनका बेला बुटवलमा स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि परिकल्पना गरेर योजना अघि बढाइएको बताए । सम्मेलन केन्द्रले अब बाहिर कार्यक्रम गर्ने झन्झटबाट मुक्त बनाएको बताउँदै उनले बुटवल अब जस्तोसुकै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न तयार भएको सन्देश दिएको उल्लेख गरे ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रको भौतिक संरचना निकै आर्कषक बनाइएको छ । सभाहल अगाडि पानीका फोहोरा सहित पोखरी निर्माण गरिएको छ । सम्मेलन केन्द्रबाट प्रवेश गर्ने बाहिरिनेहरूका लागि छुट्टाछुट्टै गेट तयार गरिएको छ । ती गेटहरू पनि आर्कषक डिजाइनमा छन् । ५ वटा गेटमा प्रवेश र निकासद्वार, भिआईपी र सर्भिस गेट रहेका छन् ।विभिन्न १३ वटा वातानुकूलित हलहितको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन् । २०७१ साल पुसदेखि निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरण गरेर सम्पन्न भएको हो । भूकम्प, नाकाबन्दी, कोरोना (कोभिड–१९) महामारीका कारण र रुख कटानमा ढिलाइ लगायतका कारणले निर्माणको काममा ढिलाई एको थियो । आयोजनाको दोस्रो चरणको काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो । तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।
आकाशबाट हेर्दा नेपालको झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुँई तलामा गरी ८ सय ७२ वटा कुर्सी जडान गरिएको छ । यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् । अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पाङ्ग्रे र ४ सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ ।सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, कर्मचारी आवास सुविधासहित विद्युतका लागि ६ सय ३० केभीए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिन मुनिको पानी रिचार्ज गर्न ८ वटा रिचार्ज पटि पनि बनाइएको छ ।सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुवैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् । सम्मेलन केन्द्र बनेसँगै सानादेखि ठूला सममेलन र सेमिनारहरु गर्न ठाउँ अभावको समस्या हट्ने बताइएको छ।
कमेन्ट गर्नुहोस्