लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सार्वजनिक सवारीको २० वर्षे आयु हटाउने सरकारको तयारी

IMG

तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रुवाहक सवारीको आयु २० वर्ष लागू गरेसँगै विस्थापनमा परेका सवारी साधन फेरी चल्न दिने तयारी गरेको छ ।  यातायात व्यवसायीहरुले लामो समयदेखि २० वर्षपछि सार्वजनिक सवारी चलाउन नपाइने व्यवस्था खारेज गर्न माग गर्दै आइरहेका थिए । गाडीधनीहरुले  ‘फलाम’का रुपमा मात्र अर्थ्याएर आयु तोक्न नहुने तर्क गर्दै संघ र प्रदेश सरकारहरुमाथि दबाव दिइरहेका थिए । प्रदूषण र दुर्घटना न्युनीकरण गर्ने तथा सडक–सवारी सुरक्षा बढाउने उद्देश्यले सरकारले २०७३ मा २० वर्ष पुगेका सवारी सञ्चालनमा रोक लगाएको आफ्नै निर्यण उल्टाउने तयारी गर्दा सवारी धनीहरुमा उत्साह थपिएको छ  । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीलाई २०७३ फागुनयता सडकमा चल्न दिएको छैन । निजी र सरकारी गाडीको भने आयु तोकिएको छैन ।



अब व्यवसायीको मागअनुसारै सार्वजनिक सवारीको पनि आयु असीमित बनाउन सरकार तयार देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा गत आइतबार सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातसम्बद्ध अन्तरतह समन्वय बैठकमा २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने २०७३ सालको  निर्णय पुनरावलोकन गर्ने सहमति भएको छ । त्यसअनुसार कानुनी गृहकार्य पनि सुरु भएको यातायात मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार, पुराना सवारीलाई विशेष जाँचपास गराएर चल्न दिने व्यवस्था गर्ने तयारी छ । ‘२० वर्ष पुगेका सार्वजनिक गाडीहरुको ‘मोटर अपरेटिङ टेस्ट’ गरेर अवस्था ठीक देखिएकालाई चल्न दिने व्यवस्था गर्ने सहमति छ’, ती अधिकारीले भने, ‘यसका लागि अहिलेका कानुनी अड्चन हटाउन प्रक्रिया हुँदैछ । ’सरकारको यो निर्णयले सडक दुर्घटना बढाउने विज्ञहरु बताउँछन् । दुर्घटनाको तथ्यांक हेरेर यो निर्णय सच्याउनपर्ने उनीहरुको सुझाव छ ।

कमेन्ट गर्नुहोस्