लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब, ऋण दिन नसक्ने अवस्थामा १६ बैंक

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ ।  वाणिज्य बैंकहरुको निक्षेप ४३ अर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। गत महिनाको तुलनामा ६ अर्बले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । तर पनि नेपालको बैकिङ प्रणालीमा तरलताको समस्या कायम रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले पनि २७ वटा वाणिज्य बैंकमध्ये करिब १६ वटा ऋण दिन नसक्ने स्थितिमा छन् । राष्ट्र बैंकका अनुसार कर्जा र निक्षेत्रको अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि जान नहुने प्रावधान छ। तर १६ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सञ्चालक समितिले निर्णय गरेर राष्ट्र बैंकसँग सहमति गरेको खण्डमा सो मान्दा माथि जान पाउने तर यो व्यवस्था असार मसान्तसम्मलाई मात्रै लागू हुने गराएको छ । असार मसान्त आउन करिब १ महिना मात्रै बाँकी रहेकोले बैंकहरुले ९० प्रतिशतभन्दा माथि सीडी रेसियो भएकालाई पनि एक महिना अन्तरमा तल झर्ने दबाब छ । त्यसकारण १६ वटा बैंकले तत्काल ऋण प्रवाह गर्न नसक्ने देखिएको हो। चालू आर्थिक वर्षको सुरुदेखि भएको तरलता अभाव आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको राष्ट्र बैंकको तथ्याङकले देखाएको हो ।  राष्ट्र बैंकका अनुसार सानिमा, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, राष्ट्रिय वाणिज्य, एनएमबी, माछापुच्छ्रे, नेपाल एसबीआई, लक्ष्मी, एभरेष्ट र मेगाबैंक रहेका छन्। यीभन्दा बाहेकका बैंकले ऋण प्रवाह गर्न नसक्ने राष्ट्र बैंकको रिपोर्टिङले देखाएको हो ।  आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत १ खर्ब ९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल ३ खर्ब ३ अर्ब २९ करोड तरलता प्रशोचन भएको थियो ।  चैत मसान्तसम्ममा रिपोमार्फत ४ खर्ब १३ अर्ब ५ करोड, सोझै खरिद उपकरणमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत ५७ खर्ब ७३ अर्ब ७५ करोड गरी कुल ६२ खर्ब ४२ अर्ब ७२ करोड तरलता प्रवाह गरेको छ।  


बैंकको ऋण कुन क्षेत्रमा बढ्यो ?


निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २७.३ प्रतिशतले बढेको छ। २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाकोअनुपात क्रमशः ६५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले बढेको छ। चैत मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २२.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले र हायर पर्चेज कर्जा ४.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४९.९ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो। 



कमेन्ट गर्नुहोस्