
तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। रुपन्देही व्यापार संघले आर्थिक वर्ष २०७९/०८० को वजेटको आलोचनात्मक सर्मथन गरेको छ । सरकारले ल्याएको वजेटमार्फत संघले उठाउदै आएका निजी क्षेत्रलाई उत्साहित बनाउने नीतिहरु उल्लेख गरेकोमा स्वागत गर्दै कोभिडपछि भर्खरै लयमा फर्किन सुरु गरेको अर्थतन्त्रलाई बजेटले उचित सम्बोधन गर्न आवश्यक नीति र राहातका कुराहरु समावेश गर्न नसकेकोमा संघले आलोचना गरेको छ । रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले सोमवार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको पक्षमा वजेटमा उल्लेख गरिएका कुरालाई कार्यान्वयनमा विशेष ध्यान दिएमा अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने जनाइएको छ । विज्ञप्तिमा वर्तमान अवस्थामा देशको अर्थतन्त्र खस्कँदै गएको उल्लेख गर्दै विगतमा नीति र कार्यक्रमहरु कागजमा राम्रो बन्ने तर कार्यान्वयनको चरणमा पुग्दा निराशाजनक हात लाग्ने गरेको भन्दै सरकारलाई गम्भिर बन्न संघले आग्रह गरेको छ ।
चालू खाता घाटा र शोधानान्तर स्थिति नराम्रो भएको अवस्थामा स्वदेशी उत्पादन प्रोत्साहन गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने, निर्यातलाई बढावा दिने र आयातलाई निरुत्साहन गर्ने किसिमको बजेट आउनु सकारात्मक भएको संघले जनाएको छ ।संघले राजस्वको मुख्य आधार भन्सार रहेको अवस्थामा आयात नियन्त्रण गर्ने कुरा त्यति सहज नहुने बताउदै स्वदेशी उत्पादन पर्याप्त नभएको अवस्थामा आयात नियन्त्रणको विषयले खुल्ला वजार अर्थतन्त्रको नीतिप्रति न्याय नहुने होकि भन्दै विज्ञप्तिमार्फत राज्यको ध्यानाकर्षण गराएको छ ।
संघले वजेटमार्फत यस क्षेत्रमा यस अघि अगाडी सारिएका गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल निमार्ण, बुटवल–भैरहवा रेल संचालन, सिद्धबाबा राजमार्ग क्षेत्रमा सुरुङमार्ग, बुटवल नारायणगढ र बुटवल कोहलपुर ४ लेन सडक, बुटवलमा मेडिकल कलेज, कालीगण्डकी तिनाउ ड्राइभर्सन आयोजना, बुटवल गोरखपुर र बुटवल कोहलपुर प्रसारण लाइन, तिनाउ दानव बस्ती संरक्षण तथा तटबन्धन निर्माण, तिनाउ नदिमा बहुउद्देश्यीय सिक्नेचर बृज निमार्ण, बुटवल धागो कारखाना संचालन गरिने लगायत आयोजना, परियोजना र विकास निमार्णका कामहरुलाई निरन्तरता दिने तथा नया योजनाहरु थप गरिएकोमा नेपाल सरकार, अर्थमन्त्री तथा यस क्षेत्रका सांसद एवं जनप्रतिनिधिहरुप्रति आभार व्यक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्