लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शनिबारदेखि नेपालमा रेल, सवार गर्न परिचय पत्र अनिवार्य

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ ।रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठूलो स्क्रिन जडान गरिनेछ ।रेलको उद्घाटन हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले शुक्रबार जनकपुरधाम रेल्वे स्टेशनको अनुगमन गरेकी छन् । उनले उद्घाटनको तयारी भव्य रुपमा गर्न निर्देशन दिएकी छन् ।


रेल चढ्न परिचप पत्र अनिवार्य

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल संचालन हुन लागेको छ । दैनिक दुई पटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताए ।दुई देशीय यात्रा भएका कारण दुवै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाण पत्र बोक्नुपर्नेछ । नेपाली नागरिकलाई नागरिकताको प्रमाण पत्र, पासपोर्ट या मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्नेछ ।भारतीय नागरिकलाई पनि पहिचान खुल्ने परिचय पत्र बोक्नुपर्ने महाप्रबन्धक झाले बताए । १० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनले बताए ।


कति छ भाडा ?

नेपाली रेल सञ्चालन हुने भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ७ वटा स्टेशन रहेको छ । जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा निर्धारण गरेको छ ।जसअनुसार जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १२५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।यस्तै, खजुरी पुग्न सामान्य कोचमा ५५ रुपैयाँ र एसी कोचमा २७५ रुपैयाँ, इनर्वा पुग्न सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३०० रुपैयाँ तथा जयनगर पुग्न सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३५० रुपैयाँ भाडा दर तोकिएको छ ।

कमेन्ट गर्नुहोस्