लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ठूलो परिमाणमा पूँजी हरायो, कहाँ हरायो खोज्दै छु: अर्थ मन्त्री शर्मा

IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। अर्थ मन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन्। पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको उनले बताए।शुक्रबार नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताएका हुन्। “पूँजी कतै हराइरहेको छ। आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु,” उनले भने।


उनले पूँजी निष्क्रिय भएर बसिरहेको हुन सक्ने भन्दै त्यतातिर पनि ध्यान जान आवश्यक रहेको बताए। उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्ड लगायत नयाँ प्रविधिको दुरुपयोग गरी पूँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए। मन्त्री शर्माले भने, “नयाँ विकास भएका विभिन्न प्रविधिको दुरुपयोग गरेर क्यापिटल फ्लाई हुने प्रक्रिया देखा परेको छ। त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्।”पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्ने क्रम लम्बिएपछि अर्थ मन्त्रालय पूँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए। मन्त्री शर्माले ब्यांक ब्याजदर व्यवसायी अनुकूल हुनुपर्ने र उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट दुई प्रतिशतभन्दा बढी नहुने भनेर राष्ट्र ब्यांकलाई सल्लाह दिएको पनि बताए।


उनले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डन्डी तथा डन्डीजन्य वस्तु, खानेतेल, प्लास्टिक लगायतको मूल्य बढेको तथा ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको उनले बताए। अर्कातिर, डलरको विनिमयदर पनि बढेको कारण शोधानान्तर स्थितिमा चाप परेको मन्त्री शर्माको भनाइ थियो।

कमेन्ट गर्नुहोस्