लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निजी क्षेत्रप्रतिको विश्वास अटल रहन्छ : गृहमन्त्री खाँण

IMG

तिलोत्तमा सिटी, फाल्गुण २१ गते २०७८।गृहमन्त्री बालकृष्ण खाँणले सरकार वा प्रतिपक्षमा रहँदा निजी क्षेत्रप्रतिको विश्वास अटल रहने बताएका छन् । उनले उद्योगी व्यवसायीबाट उठेका मागहरु सम्बोधन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरिरहेको बताए ।सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६३ औं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाँणले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नहुँदा पनि एमसीसी राष्ट्रको हितमा भएको बताउँदै आउनुभएको उनले बताए । ‘एमसीसी प्रस्ताव अगाडी नबढेको भए उद्योग वाणिज्य क्षेत्रमा गम्भिर प्रभाव पर्नेथियो, ’उनले भने । कोभिड–१९ ले उद्योग वाणिज्य क्षेत्रमा प्रभाव पारेको उनको भनाइ थियो ।


गृहमन्त्री खाँणले आयात निर्यात असन्तुलित भएको तथा पेट्रोलियम पदार्थको आयात बढ्दै गएको बताए । उनले ट्रान्समिसन लाइन बनाउन सके मुलुक समृद्ध हुने धारणा राखे । एमसीसीको मूल उद्देश्य नै ट्रान्समिसन लाइन बनाउनु रहेको उनको भनाइ थियो ।नेता खाँणले भने, ‘विपक्षमा हुँदा पनि भन्यौं, एमसीसीले राष्ट्रियता बलियो बनाउँछ, सत्ता पक्षमा हुँदा पारित गर्नैपर्ने भयो, एमसीसी प्रस्ताव पारित गर्ने र गठबन्धन बचाउने दुवै दायित्व हाम्रो थियो । उद्योगी व्यवसायीको विद्युतसम्बन्धि समस्या ‘टं«कलाइन’ समाधान नहुँदासम्म लाइन नकाटिने उनले प्रतिवद्धता व्यक्त गरे । यदि विद्युत प्राधिकरणले उद्योगको लाइन काट्न खोजे सुरक्षा निकायले साथ नदिने उनले बताए । उद्योग स्थापना तथा सञ्चालन गर्न ग्राहो अवस्था रहेको उनको भनाइ थियो । 


भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेलामा रुटसम्बन्धी झमेला हुन्छ भन्ने पहिले नै थाहा भएको उनले बताए । उनले भने, ‘त्यो झमेला नभएको भए बन्दैनथ्यो, नयाँ रुटको अनुमतिको लागि कुरा भइरहेको छ तर यथार्थ रुपमा भन्नुपर्दा अहिलेसम्म अनुमति पाइएको छैन ।’नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री खाँणले निकट भविष्यमा भैरहवामा प्रादेशिक विश्वविद्यालय स्थापना हुने बताए । उनले भैरहवाको मध्यभागमा रहेको जेल सार्ने कुरामा आफ्नो सहमति रहेको बताए । जेललाई सुधार गृह बनाउनुपर्ने उनको भनाइ थियो । चालु खर्च बढे पनि पुँजीगत खर्च बढ्न नसकेको उनले बताए ।


प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले रोजगार दिने पुँजी आवश्यक भएको बताए । उनले भने, ‘उद्योगको रक्षा गर्ने हाम्रो एजेण्डा हुनुपर्छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कम राजस्व लिनेमध्ये सिद्धार्थनगर नगरपालिका पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायी आतंकित भएको जस्तो देखिएको बताए । उद्योग वाणिज्य महासंघका एसोसियटतर्फका उपाध्यक्ष रामचन्द्र संगाईले उद्योग व्यवसायमैत्री वातावरण बनाउनुपर्ने बताए । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरणको सिर्जना हुनुपर्ने बताए ।उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले बजार अनुगमन गर्न जाँदा त्यस क्षेत्रको उद्योगी व्यवसायीको सहभागिता हुनुपर्ने बताए । महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले व्यापार घाटा बढ्दै गएको बताए ।


रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण राम्रो हुन नसकेको बताए ।सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन नसकेको बताए ।यसैबीच संघको ६३ औं वार्षिक साधारणसभाको अवसर पारेर पत्रकार शंकर प्रसाद पाण्डे सम्मानित भएका छन् । आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै उनलाई संघले नगदसहित सम्मान गरेको हो ।त्यस्तै कोरोना महामारीको विषम परिस्थितिमा आफ्नो निजी सवारीसाधनमा बिरामी बोकेर अस्पताल पुर्याएको भन्दै सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्य र कार्यसमिति सदस्य मंगल भण्डारीलाई सम्मान गरिएको थियो । त्यसै विभिन्न उद्योगी व्यवसायीलाई पनि सम्मान गरिएको थियो ।संघका महासचिव विजय पाण्डे र सचिव दिपेन्द्र प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्