लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ महिनामा विद्युत प्राधिकरणको नाफा १२ अर्ब,

IMG

 २०७८ फागुन ८, तिलोत्तमा सिटी। चालू आर्थिक वर्ष  २०७८/७९ को पहिलो ६ महिनामा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।प्राधिकरणको वित्तीय विवरण अनुसार गत  आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १८ करोड रुपैयाँ नाफा रहेको थियो । चालू आवको पहिलो ६ महिनामै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । 


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारततर्फ विद्युत निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत आयातमा कमी, विद्युत बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण चालू आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो ।’


घिसिङका अनुसार पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको र  यसबाट चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्ने तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेको बताउनु भयो। प्राधिकरणले चालू आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश: विद्युत बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।

 

कमेन्ट गर्नुहोस्