
२०७८ फागुन २, तिलोत्तमा सिटी । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आयको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको सङ्ख्या ३०२ वटा छ ।नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान साढे १० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।
सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिए क्षमताको सबस्टेसन निर्माण भएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालन हुदै आएको छ। तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुने छ ।घिसिङका अनुसार सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ, निर्माण सम्पन्न भई वर्खाको समयम पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधी जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत प्रवाहको समस्या समाधान भएको छ ।आयोजनाहरको विद्युत सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा हाम्रो आफ्नै उत्पादनबाट आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुनेछ।
तिंला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने उहाँले उल्लेख गर्नुभयो ।२३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।
सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत पोहोर फागुनबाट अस्थायी रुपमा ३३ केभी लाइनमा जोडिएको थियो ।प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजनाहरु निर्माण गरिनु पर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताउनुभयो ।प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३को असोजबाट कार्यान्वयनमा आएको थियो ।
कमेन्ट गर्नुहोस्