लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इलामको सुकिलुम्बा विमानस्थल अब छिट्टै सञ्चालनमा आउने

IMG

२०७८ माघ २६, तिलोताम्मा सिटी । इलामको फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ ।विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पूरा भएको हो ।विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परिक्षण उडान गरिएको छ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । यस विमानस्थलबाट फागुन ८ बाट व्यवसायी उडान सुरु हुँदैछ ।  साताको एक दिन तारा एयरलायन्सले काठमाडौँ-इलाम-काठमाडौँ उडान गर्ने तयारी छ । 


नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलायन्सबीच सम्झौता भइसकेको र  प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र एयरलायन्सबीच सम्झौता भएको हो ।सम्झौताअनुसार आतेजाते ११-११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्ने छ । हवाई यात्राका लागि एकतर्फी भाडा आठ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 


विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुननन्द-सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका यात्रुलाई हवाई यात्राका लागि सहज हुनेछ । 


 


कमेन्ट गर्नुहोस्